सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ मा बस्दै आएकी कालिकोटको तिलागुफा नगरपालिकाकी एक किशोरीले १७ वर्षको उमेरमा कालीकोटकै दिनेश थापासँग २०७७ सालमा विवाह गरिन् । तर उनीहरूबीच विवाहको एक वर्ष नबित्दै खटपट सुरु भयो । केही समय उनी माइतमै बसिन् । तर श्रीमानसँग सम्बन्ध राम्रो नभएको भन्दै आफन्तहरूले पनि कुरा काट्न थालेपछि उनी सुर्खेत आइन् । तर श्रीमान्ले पिछा नछोडेपछि उनले गत असारमा सम्बन्धविच्छेद गरिन् ।
‘विवाहको एक वर्ष नबित्दै दैनिक कुटाइ खानुपर्यो, पटकैपिच्छे गाली,’ उनले भनिन्, ‘उमेर नपुग्दै विवाह गर्दाको फल अहिले भोग्दैछु ।’
वीरेन्द्रनगर–७ बस्ने अर्की किशोरीको ५ वर्षअघि वीरेन्द्रनगरकै पूर्ण ओलीसँग भागी विवाह भयो । विवाह गर्दा उनी १७ वर्षकी थिइन् भने उनका श्रीमान् २० वर्षका । तर उनको सम्बन्ध पनि लामो समय टिक्न सकेन । २२ वर्षमा गत साउनमा सम्बन्धविच्छेद गरेकी उनीसँग २ वर्षको छोरासमेत छन् । ‘मायाप्रेम भनेर सबै कुरा छोडियो, तर त्यही मायाले धोका दिएपछि एक्लै बस्नुपरेको छ,’ उनले भनिन्, ‘सानै उमेरमा आमा बन्दा पाठेघरको समस्या छ, राम्ररी हिँडडुल गर्न र सामान्य काम गर्न पनि समस्या हुन्छ, रोजगारी नहुँदा अभावैअभावमा बाँच्नुपरेको छ ।’ उनले आफ्नोजस्तै बच्चाको भविष्य पनि बिग्रिएको गुनासो गरिन् । अहिले उनका पति सम्पर्कमा छैनन् ।
कर्णालीका अधिकांश जिल्लामा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । सम्बन्धविच्छेदका मुद्दामध्ये झण्डै १५ प्रतिशत मुद्दा उमेर नपुगी विवाह गरेका रहेको उच्च अदालत सुर्खेतको तथ्यांक छ । सम्बन्धविच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३० वर्ष भित्रका उमेर समूहको उमेर समूह छ । २०७५ सालयता सुर्खेत जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि २ हजार ६ सय २० मुद्दा परेका छन् । जसमा १ हजार ९ सय ४० जनाको सम्बन्धविच्छेद भइसकेको छ । चालु आर्थिक वर्षको ६ महिनामा पनि ५४ पुरुष र १ सय २७ जना महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । जसमध्ये ७१ वटा मुद्दाको फैसला भइसकेको अदालतको तथ्यांक छ । ५ वर्षको अवधिमा डोल्पामा ५२, सल्यानमा ४ सय ८४, हुम्लामा विगत ६२, जाजरकोटमा ५ सय ८५ र जुम्लामा १ सय ८० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिला मात्र छैनन् । जुम्लाको तातोपानी गाउँपालिकाका ३८ वर्षीय महेश बस्नेतले श्रीमतीले आफूले कमाएको रकम हिनामिना गरेको भन्दै सुर्खेत जिल्ला अदालतमा ३ महिनाअघि मुद्दा दर्ता गरे । उनले ३० वर्षीया पत्नीले आफू विदेश गएर कमाएको रकम परपुरुषलाई खर्च गरिसकेकोले सँगै बस्न नसक्ने बताउँदै अदालतमा मुद्दा दर्ता गराएका हुन् । ‘झण्डै १ दशक भारत गएर कमाएको पैसा अहिले कत्ति पनि छैन,’ उनले भने, ‘सम्पतिको हिसाब माग्न नपाउँदै उनी घर छोडेर भागिन्, त्यसैले मैले कानुनी उपचार खोजेको हुँ ।’
यातनाका कारण पनि सम्बन्धविच्छेद बढिरहेको छ । दैलेखको भगवतीमाई गाउँपालिका–६ की मिना सिहंले ७ वर्षअघि १७ वर्षको उमेरमा गाउँकै एक युवकसँग विवाह गरिन् । उनको ४ वर्षको छोरासमेत छन् । उनका पति नेपाली सेनामा कार्यरत छन् । ‘मलाई विहे गर्दा जागिर थिएन, मैले धेरै संघर्ष गरेर उनलाई जागिर खान सहयोग गरे,’ उनले भनिन्, ‘तर जागिर भएपछि मेरो अर्कैसँग सम्बन्ध छ भन्दै दिनहुँ यातना दिन थाले, त्यसैले अहिले अदालतको शरणमा आएकी हुँ ।’ दैलेख जिल्ला अदालतमा पनि ५ वर्षको अवधिमा ६ सय ८७ वटा सम्बन्धविच्छेदका उजुरी दर्ता भएका छन् ।
जाजरकोटमा पनि सम्बन्धविच्छेदको अवस्था भयाभह छ । जिल्ला न्यायाधीश उमेर चपाइले नयाँ संहिताले गर्दा अदालतमा उजुरीको चाप बढेको बताए । ‘पहिले पुरुषले सहजै सम्बन्धविच्छेद गर्न पाउँदैनथे, यदि गर्न परे पनि वर्षाै लाग्थ्यो,’ उनले भने, ‘तर अहिले श्रीमान्–श्रीमती मिलेर आए २ दिनभित्रमा पनि सम्बन्धविच्छेद हुन्छ ।’ उनका अनुसार गरीबी, कम उमेरमा विवाह, बहुविवाह, अनमेल विवाह, र समान अस्थित्व नस्वीकार्ने प्रवृत्तिले सम्बन्धविच्छेद बढिरहेको छ ।
अधिवक्ता दुर्गा सापकोटा पहिला र अहिले आउने सम्बन्धविच्छेदका मुद्दामा आकासपातालको फरक हुने बताए । ‘अहिले सम्बन्धविच्छेद गर्न महिला–पुरुष दुवैको हकमा कानुन सजिलो भएपछि सिधै अंशसहितको मुद्दा आउने गरेका छन्, अहिले अधिकांश मुद्दा बालविवाहका कारण आउने गरेका छन्,‘ उनले भने, ‘पहिला कुटपिट, खान लाउन नदिएकोलगायतजस्ता मुद्दा हामीकहाँ आउने गर्थे ।’ मुलुकी देवानी संहिता आएपछि अहिले पुरुषलाई सहज भएको उनले बताए । महाबु गाउँपालिका उपप्रमुख मञ्जु पाण्डेले महिला हिंसाका कारण पनि यस्ता मुद्दा बढिरहेको बताइन् । उनका अनुसार सम्बन्धविच्छेद गरेका अभिभावकका बालबालिकाहरूको विचल्ली हुन थालेको छ । स्राेत: कान्तिपुर
Discussion about this post