मोरङ — कटहरी गाउँपालिका ५ की गीतादेवी राम सोमबार सीमावर्ती भारतीय बजार जोगबनीबाट कपडा र दैनिक उपभोग्य सामग्री किनेर फर्किने क्रममा विराटनगरस्थित रानी भन्सार नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले रोके । उनले ल्याएको सामान बोकेको झोला सशस्त्र प्रहरीले जाँच गरेपछि भन्सार कटाएर मात्रै लैजान भने । विपन्न दलित परिवारकी गीतादेवीले भने सशस्त्र प्रहरीले भनेको भन्सार कटाउने विषय बुझिनन् । उनी झोला बोकेर हिँड्न लागेपछि पुनः सशस्त्र प्रहरीले रोकेर भन्सार नकटाए सामान जफत गरिने चेतावनी दिए । त्यसपछि एक महिला सशस्त्र प्रहरीले भन्सार काट्ने ठाउँसम्म पुर्याइदिएपछि गीतादेवीले खरिद गरेको सामानको नाम भनिन् ।
उनले एउटा साडी, दुई वटा गञ्जी, दुई किलो धनियाँ, एक प्याकेट पापड र दुई प्याकेट सरफ रहेको कर्मचारीलाई सुनाइन् । ती कर्मचारीले माग गरेको १८५ रुपैयाँ उनले दिएपछि भन्सार तिरेको कागजातसहित निस्किएपछि पुनः सशस्त्र प्रहरीले भन्सार तिरेको कागज अनुसारको सामान मिलाउन थाले । त्यसमा साडी र गञ्जीको मात्रै भन्सार तिरेकाले सशस्त्र प्रहरीले धनिया, पापड र सरफ लिएर जान नपाउने गीतादेवीलाई सुनाए । त्यसपछि चाहिँ उनी अलमलमा परिन् ।
उनी चर्को घाममा आधा घण्टासम्म उभिरहेको देखेपछि अर्का एक सशस्त्र प्रहरीले भन्सार नकाटिएको सामग्री खरिद गरेको पसलमा नै फर्काएर घर जान सुझाव दिए । तर उनले यति थोरै सामग्री लैजान अनुमतिका लागि सशस्त्र प्रहरीलाई अनेक अनुनयवीनय गरिन् तर सुनुवाइ भएन ।
त्यसपछि एक व्यक्तिको सहयोगमा उनले पुनः कर्मचारीलाई धनिया, पापड र सरफको भन्सर काटिदिन आग्रह गरिन् । ती कर्मचारीले खाद्यान्न सामग्री भन्सार काट्न नमिल्ने भएकाले खरिद गरेकै पसलमा फिर्ता गरिदिन सुझाए । गीतादेवीले किनिसकेको सामान भारतीय पसलेले नफर्काउने भन्दै पुनः सशस्त्र प्रहरीसँग आग्रह गरिन् तर सुनुवाइ भएन । ५ घण्टापछि गीतादेवी सुरक्षाकर्मीको आँखा छलेर सबै सामानसहित गइन् ।
यस्तै, सुनसरीको बर्जु गाउँपालिका ६ की उषादेवी खबासले तीन वटा कुर्ता सलवार जोगबनीबाट किनेर ल्याउने क्रममा उनलाई सशस्त्र प्रहरीले रोकेर भन्सार कटाउन आग्रह गरे । उनले सुरुमा आफैंले लगाउन किनेकोले भन्सार तिर्न अस्वीकार गरिन् तर सशस्त्र प्रहरीले भन्सार नतिरे जफत गर्ने चेतावनी दिएपछि अलमलमा परिन् । तीन घण्टा घाममा उभिएपछि मात्रै उनी भन्सार कटाएर घर फर्किन् ।
यस्तै, विराटनगर १ पोखरियाकी मनिसा कामतले २५० रुपैयाँको पाइन्ट र सर्टको कपडा किनेर लग्ने क्रममा सुरक्षाकर्मीले उनलाई पनि भन्सार कटाउन लगाए ।
उनीहरु जस्तै जोगबनीबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामग्री खरिद गरेर फर्किने प्रत्येक उपभोक्तालाई रानी नाकामा सुरक्षाकर्मीले भन्सार तिर्न लगाउने गरेका छन् । तर भन्सार कर्मचारीले खाद्यवस्तुको भन्सार नकाट्ने गरेकाले उपभोक्ता हैरानी बेहोर्न बाध्य भएको देखिन्छ । उनीहरुमध्ये केही सुरक्षाकर्मीको खाँखा छलेर गन्तव्यतिर लागे भने केहीले सामान नै फिर्ता गरेर फर्किए ।
यसअघि जोगबनीबाट बिना रोकटोक उपभोक्ताले दैनिक उपभोग्य सामग्री खरिद गरेर ल्याउने गरेका थिए । विराटनगरभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाउने भएकाले यस क्षेत्रका उपभोक्ताहरु सीमाबर्ती जोगबनी बजारमा किनमेलका लागि जाने गरेका छन् । सस्तोमा किनमेल गर्न काठमाडौं, पोखरासम्मका उपभोक्ताहरु जोगबनी आउने गरेका हुन् । काठमाडौंबाट उच्चतहका कर्मचारीहरु सपरिवार नै सस्तोमा किनमेल गर्न जोगबनी आउने पुरानै चलन रहेको भन्सार कर्मचारीहरु बताउँछन् । जोगबनीमा दैनिक न्यूनतम ५ करोडको दैनिक उपभोग्य सामग्री किनेर नेपालीहरुले ल्याउने गरेका थिए ।
तर सोमबारदेखि अचानक सुरक्षाकर्मीको सहयोगमा भन्सार कार्यालयले एक सयभन्दा बढी मूल्यको सामग्रीको भन्सर काट्न थालेपछि जोगबनीबाट दैनिक उपभोग्य वस्तु खरिद गरेर ल्याउन अभ्यस्त भइसकेको उपभोक्ता हैरानी बेहोर्न बाध्य छन् । रानी नाकामा कडाइ भएसँगै विराटनगरका व्यापारीहरुले प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य ५ देखि १० रुपैयाँ बढाइदिएको स्थानीय रामप्रसाद बास्तोलाले गुनासो पोखे ।
‘विराटनगर महानगर प्रमुखले यहाँका ब्यापारीबाट अनुचित लाभ लिएर उपभोक्ता मार्न नाकामा कडाइ गर्न लगाएको छ,’ उनले भने, ‘महानगर प्रमुखले निर्वाचित भएदेखि हालसम्म बजार अनुगमन गरेर उपभोक्ताको हित संरक्षणका लागि कुनै पहल गर्न सकेका छैनन् । तर ब्यापारीलाई मोटाउन नाकामा कडाइ गरिसक्यो ।’
ब्यापारीको दवाव र प्रभावमा परेर महानगरसँगै स्थानीय प्रशासन र बाणिज्य कार्यालयले पनि बजार अनुगमन गरेका छैनन् । तस्करी गरेर ल्याएको सामान उच्च मूल्यमा बेचेर अत्यधिक मुनाफा कमाउने ब्यापारीहरुको संरक्षणमा जनप्रतिनिधि लाग्नुको एउटै कारण अनुचित लाभ भएको उपभोक्ता हित संरक्षणका अभियन्ताहरुले गुनासो पोखे ।
विराटनगर भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले खाद्यान्न सामग्रीको क्वारेन्टाइन जाँचका साथै जीएसटी बिल भएपछि मात्रै भन्सार काट्ने व्यवस्था रहेको बताए । ‘क्वारेन्टाइन जाँचबिना खाद्यान्न सामग्रीको भन्सार काटेर पठाइदियौं र त्यो खाएर कोही बिरामी वा कसैको मृत्यु भएपछि त्यसको जिम्मेवारी कसले लिने ?,’ उनले भने, ‘त्यसैले क्वारेन्टाइन जाँचको कागजातबिना खाद्यवस्तुको भन्सार नकाट्न निर्देशन दिएको छु ।’
विराटनगर महानगरको पहलमा स्थानीय प्रशासनले सहयोग गरेपछि एक सय रुपैयाँभन्दा बढी मूल्यको सामानको भन्सार काट्न सुरु गरिएको ढकालले बताए । विराटनगर महानगर प्रमुख नागेस कोइरालाको दवावमा मोरङस्थित ६३ किलोमिटर भारतसँग जोडिएको सीमा नाकामध्ये रानी नाकामा मात्रै स्थानीय प्रशासनको सहयोगमा भन्सार कार्यालयले कडाइ गरेको हो ।
‘सबै पालिकाले यसरी नै पहल गरिदिएर स्थानीय प्रशासनले सहयोग गरिदिए सबै नाकामा भन्सार असुली प्रभावकारी हुन्छ,’ उनले भने, ‘उपभोक्ता आफैंले भारतीय बजारमा गएर दैनिक उपभोग्य वस्तु खरिद गरेर ल्याउन नदिनका लागि नै रानी नाकामा कडाइ गर्न थालिएको हो ।’ यसले स्थानीय नेपाली बजारमा उपभोक्ता किनमेल गर्ने हुँदा स्थानीय बजारको प्रवर्द्धन हुने ढकालको भनाइ थियो ।
विराटनगरका ब्यापारीको दवावमा विराटनगर महानगर प्रमुख कोइरालाले स्थानीय प्रशासन र विराटनगर भन्सार कार्यालयलाई भारतीय बजार जोगबनीमा किनमेल गर्नेलाई निरुत्साहित गर्न भन्सार नाकामा कडाइका लागि पहल गरेका थिए । उनले गरेको पहलमा मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।
स्थानीय बजारको प्रवर्द्धन, उपभोक्तालाई स्थानीय बजारमा सामान खरिद गर्ने बानी बसाल्न र राजश्व वृद्धिका लागि महानगरको आग्रहमा रानी नाकामा कडाइ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।
‘दैनिक उपभोग्य वस्तुका नाममा जोगवनी बजारबाट दिनहुँ करोडौं मूल्यका लत्ता कपडा, खाद्यान्न, भाँडावर्तन, विद्युतीय सामग्री लगायतका व्यापारिक सामान भन्सार नतिरी भित्रिने गरेकाले विराटनगर बजार सुनसान भएर स्थानीय व्यवसायी पलायन हुने क्रम बढ्यो,’ महानगर प्रमुख कोइरालाले भने, ‘जसले राज्यको ठूलो परिमाणको राजश्व पनि गुम्दै आएकोले भन्सार नाका कडाइ गर्न र स्थानीय बजार प्रवर्द्धनका लागि पहल थालेको छु ।’
विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा ६० अर्ब ३ करोड ५२ लाख भन्सार असुली लक्ष्यको ५५ दशमलव १४ प्रतिशत अर्थात् ३३ करोड १० करोड १४ लाख मात्रै असुली गरेको छ । पछिल्ला वर्षहरुमा विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसारको भन्सार असुली नगरेपछि चालु आर्थिक वर्षमा भन्सार विभागले भन्सार असुली लक्ष्य घटाइदिएको छ । चालु आर्थिक वर्षका लागि ५४ अर्ब ६२ करोड २८ लाख भन्सार असुली लक्ष्य निर्धारण भएको भन्सार कार्यालय प्रमुख ढकालले बताए ।
Discussion about this post