इनरुवा । विपद् व्यवस्थापनका लागि गढी गाउँपालिकाले आफ्नो प्रत्येक वडामा हेलि प्याड निर्माणको तयारी गरेको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण कार्य सुरू गर्न लागिएको हाे ।
गाउँपालिका स्तरीय बिपद् ब्यवस्थापन तथा न्यूनीकरण सम्बन्धि गोष्ठीमा अध्यक्ष आशनारायण चौधरीले ६ वटै वडाहरुमा हेलिकप्टर बस्ने (हेलि प्याड) निर्माणको लागी तयारी थालेको जानकारी दिनुभयो । चौधरीले त्यसका लागि सम्भावित स्थानको खोजी गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।
उहाँका अनुसार गाउँपालिकाभित्र विपद् हुन सक्ने जोखिमहरुको विश्लेषण गरी पूर्व तयारी स्वरूप हेली प्याड आवश्यक रहेको बताउनुभएको छ ।
गढी गाउँपालिकाका सरोकारवालाहरु र राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिका बाढीेको उच्च जोखिम भएकोले सबैको सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष अनिताकुमारी शाह, लेखाअधिकृत दिलबहादुर खड्का, नेपाल रेड्क्रस गढी शाखाका प्रतिनिधि लक्ष्मि चौधरी, गैरसरकारी संस्थाका प्रतिनिधि लखनलाल साह, गाउँपालिकाका ६ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको बिपद् फोकल पर्सन सदस्य सचीव हुसैन अलिले जानकारी दिनुभयो ।
Discussion about this post