चिराैली – सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ । डेंगुका बिरामी धमाधम देखिन थालेपछि गाउँपालिकाले सचेतना अभियानलाई जोड दिएको हो ।
गाउँपालिका अन्तरगत रहेको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ । जिल्लाको विभिन्न गाउँपालिका भित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको जिल्ला अस्पताल इनरुवा सुनसरीका मेसु डाक्टर देवराज घिमिरेले जानकारी दिए ।गाउँपालिकाले आइतबार भाेक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई अभिमुखिकरणका माध्यमवाट डेंगु नियन्त्रणको लागि सचेत गराएको थियो ।
गाउँपालिकाले पहिलो चरणमा लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने र यथेष्ट मात्रामा यसको नियन्त्रणको लागि जनचेतना अभिवृद्धि गर्ने गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।
अध्यक्ष आजाद सहित सम्बन्धित वडाध्यक्षकाे उपस्थितिमा साेमबार राति देखी भोक्राहा नरसिँह गाउँपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रणको लागि औषधी छर्किने कार्यक्रम सुरू गरेका छन् ।
उनले घरदैलो कार्यक्रमको गर्दै डेंगु रोगबाट बाँच्न सर्तकता अपनाउन आग्रह गर्दै भने ‘आफू सचेत हुने हो भने डेंगु रोगबाट बच्न सकिन्छ’, उनले भने, ‘गाउँवासीहरु यो विषयमा अत्यन्तै गम्भीर हुन जरूरी रहेको बताए । वर्षाको बेलामा डेंगु रोगको प्रकोपको अत्यधिक सम्भावना हुने भन्दै बच्ने उपाय अपनाउनुपर्ने सावधानी लगायतका विषयमा स्थानीय आफैँ सजग हुनुपर्ने उनकाे भनाइ छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने आ-आफ्नो घरवरपर रहेको खाल्डाखुल्टी पुरेर पानी जम्ने क्षेत्रलाई तत्कालै हटाउन समेत आग्रह गरेका छन् ।
उता स्वास्थ्य अधिकृत हिरा साहले डेंगु जस्तो घातक रोगबाट बच्न सरसफाईमा मुख्यतः ध्यान दिनुपर्ने बताए । उनले भने एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने उक्त रोग लाग्ने गरेको बताए । यो जातको प्रजातिको टोकाइबाट सर्ने डेँगुमा ३० गुणा बढेको देखिएको छ ।
यो रोगका कारण सुरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने जस्ता लक्षण बाट सुरु हुन्छ । यो रोगबाट मृत्यु समेत हुन सक्ने भएकाले गाउँपालिकावासीहरूलाई सचेत रहन स्वास्थ्यकर्मीहरूले सुझाव समेत दिएका छन् । यसैलाई मध्यनजर गर्दै भाेक्राहा नरसिंह गाउँपालिकाले लामखुट्टेको बासस्थान पहिचान गरि बिषादी छर्कने र अन्य जिम्मेवारी सम्बन्धित वडालाई दिएको स्वास्थ्य अधिकृत हिरा साहले प्रदेश प्वाइन्ट अनलाइनलाई जानकारी दिए ।
अझ गाउँमा डेंगुका बिरामी देखिसकेको हुनाले थप संक्रमित हुन नदिन तुरुन्त एक्सनमा आउनुपरेको पालिका अध्यक्ष आजादको कथन छ । यो रोगको मृत्युदर उच्च नभए पनि दोश्रो पटक संक्रमण भए तुलनात्मक रुपमा खतरा हुने स्वास्थ्य चाैकी नरसिंहका चिकित्सक रामाशंकर साह बताउँछन् ।
विशेषतः लामखुट्टेको टोकाइबाट नै यो रोग लाग्ने भएकाले जुनसुकै उमेर समुहकोलाई लाग्न सक्ने बताएको छ । एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा लाखौँ अन्डा पार्ने भएकाले यसको जोखिम अत्याधिक रहेको चिकित्सकहरूको सुझाव छ ।
Discussion about this post