बिराटनगर। ‘प्रेमयुद्ध’का लागि हिडेका १५ जनालाई मोरङस्थित बिराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । एउटै युवतीलाई अलग दुई युवकले मन पराएपछि उत्पन्न बिबादपछि वार कि पार गर्ने भन्दै बिभिन्न घरेलु हतियारसहित हिडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो ।
मोरङ प्रहरीका अनुसार बिराटनगरको एक कलेजमा अध्ययनरत एक युवतीलाई दुई जनाले मन पराएका थिए । त्यसपछि दुईमध्ये कुनै एकजनाको हुने गरी छिनोफानो गर्न भन्दै ठाउँ नै तोकेर बेग्लाबेग्लै दुई समूह बिराटनगर पुगेका थिए । एक प्रेमीका र दुई प्रेमीबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध अन्तिम रुप दिन ग्याङ फाईट गर्न हिडेका उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ९ जनाको उमेर १८ वर्ष मुनि छ । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलाएको थियो ।
अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा रहेर ग्याङ फाइट गर्ने तयारी भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार उनीहरुको साथबाट बाला, नक, खुडा, तरवार र लाठी बरामद गरिएको छ । सुरुमा केही पक्राउ परेका थिए । लगतै बाँकी १३ जनालाई पनि बिराटनगरको शनिमन्दिर चोक नजिकैबाट पक्राउ गरे हो ।
Discussion about this post