इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ ।
इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् ।
नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ ।
मङ्सिर २४गते संसदीय दलको बैठक बसेर विशेष अधिवेशन बोलाउने निर्णय गरिएको संसदीय दलका सचिव उमेश सुवेदीले जानकारी दिए । कर घटाउने विषयमा नै बढी समस्या भएका कारण विशेष अधिवेशन माग गर्नुपरेको उनले बताए
इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट, नीति तथा कार्यक्रम मार्फत कर बढाएर घोषणा गरेको थियो ।वृद्धि भएको कर समायोजन गर्न तीव्र दबाब आए पनि उपमहानगरपालिकाले कर समायोजन गरेको छैन । कर समायोजन गर्ने विषयमा एमाले पक्षीय जनप्रतिनिधि र मेयर बिच मतभेद हुँदै आएको छ ।
कर वृद्धिकै विषयमा अध्ययन गर्न वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा समिति पनि बनेको थियो । सो समितिले ढिला गरी बुझाएको प्रतिवेदन कार्यपालिकामा छलफलको कार्यसूचीमा पेस भए पनि छलफल भएन ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल करका विषयमा सुरुवात समय देखि नै कर नघटाउने पक्षमा अडान सहित बसेका छन् ।
यस अघि पनि उपमेयर सङ्गीता कुमारी चौधरीले पत्रकार सम्मेलन गर्दै आफ्नै अध्यक्षतामा बैठक बस्ने चेतावनी दिएकी थिइन । तर त्यस अनुसार उनले केही गर्न सकेकी थिइनन् ।
कर वृद्धिको विषयमा यस अघि नागरिक समाज इटहरीले पनि कर घटाउन तथा समायोजन गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरेको थियो ।
Discussion about this post