विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् ।‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं’, उनले भने, ‘यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठुलो विभेद कायम नै छ ।’
मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्य हुनुपर्छ’ ,उनले भने,‘विदेशमा श्रम पसिना बगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमा चन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’ विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उनले सुनाए । मुख्यमन्त्री कार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समान व्यवहार गर्न निर्देशन समेत दिएका छन् । ‘श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउन्जेल परिवर्तन हुँदैन’, उनले भने, ‘त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवध छ ।’
विदेशमा काम गर्ने र यहाँ काम गर्नेमा पनि समान व्यवहार नरहेको उनको भनाइ थियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन,’ मुख्यमन्त्री कार्कीले भने,‘खुल्ला अर्थतन्त्रमा जुन देशमा जे हुन्छ त्यही बिक्री हुन्छ । श्रम बजारमा आफ्नो हैसियत अनुसार श्रम बेचेर आर्जन गर्ने खुल्ला श्रम बजार छ ।’बंगलादेश, भारतलगायतका देशबाट आएर काम गर्ने विदेशी नागरिकले अपराध गर्याे भने कारबाही हुन्छ तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मान दिनुका साथै सुरक्षा प्रदान गर्ने उनले प्रतिबद्धता जनाए । सरकारले सीप विकासका साथै दक्ष जनशक्ति उत्पादन गर्न र वैदेशिक रोजगारीमा गएकाहरूका १० वर्षमुनिका बालबालिकाको प्रदेश सरकारले निःशुल्क उपचार सुरु गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए ।
Discussion about this post