खोटाङ । काेशी प्रदेश स्थित खाेटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा शाखाका एक कर्मचारीले आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित जाल्पा आधारभुत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब भत्ता तथा अन्य सुविधा वापत भुक्तानी दिनेक्रममा शिक्षा शाखाका प्रमुख तीर्थ बिकले आर्थिक अनियमितता गरेको दावी सहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो।
पुस ९ गते दर्ता भएको उजुरीमा आर्थिक वर्ष २०७८/०७९ मा चार चौमासिक भुक्तानी दिने क्रममा १ लाख ५१ हजार ७८५ रुपैयाँ अनियमितता भएको उल्लेख छ। प्रभावन्यूजलाई प्राप्त कागजात अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा दर्ता गरिएको उजुरीको दर्ता नम्बर सि–०३८१५२ छ। उजुरीसँग संलग्न बैंक स्टेटमेन्टका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो किस्तामा ६ लाख ५० हजार ८५० रुपैयाँ निकासा भएकोमा ५ लाख ५३ हजार ७२५ रुपैयाँ मात्रै भुक्तानी भएको देखिन्छ। बाँकी ९७ हजार १२५ रुपैयाँ बढी निकासा भएको उजुरीमा उल्लेख छ।
यस्तै, दोश्रो किस्तावापत ५ लाख २४ हजार ८२० रुपैयाँ निकासा भएकोमा ३ लाख ४३ हजार ४०५ रुपैयाँ मात्रै भुक्तानी भएको उल्लेख छ। १ लाख ८१ हजार ४२५ रुपैयाँ बढी निकासा भएको देखिन्छ। तेश्रो किस्तावापत ५ लाख ९४ हजार ८२० रुपैयाँ निकासा भएकोमा ४ लाख ५८ हजार ५५ रुपैयाँ भुक्तानी भएको जहाँ १ लाख ३६ हजार ७६५ रुपैयाँ बढी निकासा भएको उल्लेख छ। चौथो किस्तावापत १ लाख ७७ हजार ५ सय निकासा भएकोमा ४ लाख ४१ हजार ३० रुपैयाँ भुक्तानी भएको र २ लाख ६३ हजार ५३० रुपैयाँ बढी भुक्तानी भएको देखिन्छ।अनियमितता भएको आवाज उठेपछि शिक्षा शाखा प्रमुख बिकले २ लाख ६३ हजार ५३० रुपैयाँ फिर्ता गरेको श्रोत बताउँछ। चौथो किस्तामा एक महिनामै निकासी गर्दा निकासा कम देखिएको तर फिर्ता गरेको रकमले भुक्तानी रकमको मात्रा धेरै देखिएको श्रोतले बताएको छ।
केही समयअघि प्रभावन्यूजले सम्पर्क गर्दा शिक्षा शाखा प्रमुख बिकले अनियमितता नभएको प्रतिक्रिया दिएका थिए।
एउटै स्कुलमा जाने रकममा लाखौं अनियमितता भएको देखिँदा नगरपालिकाका अन्य विद्यालयमा पनि अनियमितता भएको हुनसक्ने उजुरीमा उल्लेख छ।
‘नगरपालिकाभित्रका अन्य विद्यालयहरुमा समेत यसैगरी अनियमितता भएको हुनसक्ने भएको हुँदा सम्पूर्ण विद्यालयहरुको समेत कागजात तथा बैंक स्टेटमेन्ट माग गरी अनुसन्धान गरी अनियमितता भएको पाईएमा सजाय समेत गरी पाउँ’ भनिएको छ।
Discussion about this post