इनरुवा । इनरुवा नगरपालिका नगर कार्यपालिकामा २०७९ वैशाख ३० गते निर्वाचित मेयर केदार भण्डारीसहितका जनप्रतिनिधिको २१ महिने कार्यकालमा तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन ।
इनरुवा नगरपालिकाका मेयर भण्डारीसहितका जनप्रतिनिधिले २०७९ जेठ ६ गतेबाट पदावहाली गरि जिम्मेवारी सम्माहेको २१ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतका रुपमा तीनजना कर्मचारी फेरिएका हुन ।
मेयर भण्डारीको कार्यकाल सुरु हुँदा शिक्षा शाखा प्रमुख डिल्लीराज निरौला प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । निरौलालाई संद्यीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ भदौ ६ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएको थियो ।
मन्त्रालयले २०७९ भदौ १२ गते इनरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा दशरथ राईलाई सरुवा गरि पठाएको थियो । मेयर केदार भण्डारीको रोजाईमा इनरुवा आएका राईको सरुवा २०८० भदौ १३ गते भएको थियो ।
संद्यीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उर्लावारी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीलाई २०८० भदौ १३ गते इनरुवाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरि पठाएको थियो ।
अधिकारीको पाँच महिने कार्यकाल पुरा हुनै लाग्दा २०८० फागुन ८ गते मेची नगरपालिका सरुवा भएको छ । उनी सरुवा हुनासाथ बुधवार मन्त्रालय पुगेर सरुवाको पत्र बुझेका छन ।
अधिकारी पनि मेयर भण्डारीको रोजाईमा परेपछि मन्त्रालयसँगको सहमतिमा प्रशासकीय अधिकृतको रुपमा इनरुवा आएका थिए ।
मन्त्रालयले निजामती कर्मचारी सरुवा निर्देशिका अनुसार न्युनतम दुई वर्ष सरुवा भएको ठाँउमा बसेर जिम्मेवारी पुरा गरि कार्यसम्पादन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत इनरुवामा पुरा समय बस्न नमानेपछि अन्य अधिकृतसमेत इनरुवा जान नमान्दा अन्यौल बढेको बताइन्छ ।
आखिर किन टिक्दैनन् त ?
नगरपालिका स्रोतका अनुसार मेयरसहितका जनप्रतिनिधिहरुले विद्यमान कानूनलाई बेवास्ता गर्दै आफू अनुकुलका काम गराउन चरम दवाव दिने गरेको र दैनिक प्रशासन सञ्चालनका लागि आवश्यक कानूनसमेत निर्माण गर्न नसक्दा कुनै काम गर्दा आफैलाई अप्ठ्यारो स्थिति आइपर्ने स्थिति रहेकोले इनरुवा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकाल पुरा गर्न नसकिरहेको जनाएको छ ।
त्यसैगरी करारका कर्मचारीहरुको हालिमुहाली र उनीहरुले प्रमुख प्रशासकीय अधिकृतभन्दा पनि मेयर र जनप्रतिनिधिहरुको मात्रै बढी कुरा सुन्ने गरेको कारण प्रशासन सहज रुपमा हाक्न नसक्ने स्थितिले पनि प्रमुख प्रशासकीय अधिकृत यहाँ बस्न नरुचाउने गरेको एक पूर्व प्रशासकीय अधिकृत बताउँछन ।
इनरुवा नगरपालिकामा निजामति सेवातर्फका एकदमै न्यून कर्मचारी रहेको र उनीहरुले आवश्यक जिम्मेवारी नपाई बरण्डामा बसेर समय विताउनु परेको स्थितिका कारणले पनि यहाँ प्रमुख प्रशासकीय अधिकृत आफ्नो कार्यकाल पुरा नगरी विचमै भाग्ने स्थिति बनाएको जानकारहरु बताउँछन ।
अब को आउँछ ?
संद्यीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन चाहेपनि इनरुवाको नाम सुन्ने वित्तिकै अधिकांश तर्सिने खाले स्थिति रहेकोले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला नवौं तहको उपसचिवबाट हालै दशौतहको अधिकृतका रुपमा आन्तरिक बढुवा भएकाले उनैलाई जिम्मेवारी दिएर प्रमुख प्रशासकीय अधिकृतका रुपमा नगरपालिकाको आर्थिक प्रशासनिक कामकाज गराउने तयारीमा रहेको छ ।
बिगतमा तत्कालिन नगरप्रमुख राजन मेहताको पालामा समेत मन्त्रालयबाट सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर हुने वित्तिकै सरुवा भएर जाने प्रयास गर्दा समस्या परेपछि निरौलालाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा अख्तियारी दिलाएर काम गरेका थिए । निरौलाले करिब तीन वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निभाएका थिए ।
तर मेयर भण्डारी नेपाली कांग्रेसको महासमिति बैठकको सिलसिलामा काठमाण्डौमा रहेकाले इनरुवामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा कस्लाई ल्याउने भनेर खोजीमा लागेको उनी निकटहरु बताउँछन ।
Discussion about this post