इनरुवा । नापी कार्यालय सुनसरीको इनरुवामा रहेको कार्यालयमा नक्शा लिन आउने सेवाग्राहीले अतिरिक्त रकम नदिदा कार्यालयका कर्मचारीले दिनहुँ तारेख दिएर फर्काउने गरेको पाइएको छ ।
नापी कार्यालय इनरुवा सुनसरीमा जग्गाको डिजिटल प्रणालीमा नक्शा श्रेस्ता अद्यावधिक गर्नका लागि निवेदन दिएका सेवाग्राहीले अद्यावधिक गरेको नक्शा लिन दैनिक धाउनु परेको हो।
नापी कार्यालय इनरुवामा आएका सेवाग्राहीले नक्शा अद्यावधिक गर्ने नाममा कार्यालयका कर्मचारीले मनोमानी रुपमा जग्गाको क्षेत्रफलअनुसार अतिरिक्त रकम माग गर्ने गरेको गुनासो गरेका छन ।
सेवाग्राहीहरुले रकम दिनेको काम एक घण्टाभित्र गरेर पठाउने नदिनेको हप्ता दिनसम्म काम नगर्ने नापीका कर्मचारीहरुको कार्यशैलि जसरी हुन्छ दुखः दिएर पैसा असुल्ने मात्रै रहेको जनाएका छन ।
नापी कार्यालयका फाँटवाला कर्मचारीहरुले नक्शा डिजिटल प्रणालीमा राखेर अद्यावधिक गर्नका लागि पुरानो नक्शा कार्यालयमा नभएको र ट्रेस नक्शासमेत नभएको भन्दै सेवाग्राहीलाई दैनिक बोलाएर झन्झट दिदै आएका हुन ।
विभिन्न बैक तथा वित्तिय संस्थामा जग्गा धितो राखेर ऋण लिन लागेका जग्गाधनीले बैक तथा वित्तिय संस्थामा पेश गर्नुपर्ने डिजिटल प्रणालीमा अध्यावधिक गरिएको नक्शा लिनका लागि नापी कार्यालयले सम्बन्धित बैंकका प्रतिनिधी कर्मचारीलाई मात्र अद्यावधिक गरिएको नक्शा दिन मिल्ने नियम बनाएर थप सास्ती दिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।
रामधुनी नगरपालिकाका रोशन ढकालले फागुन ३ गते नापी कार्यालयमा रसिद काटेर नक्शा माग गरेको ७ दिनसम्म अद्यावधिक गरेको नक्शा नपाउँदा सास्ती पाएको बताए ।
उनी जस्तै इटहरीका रामेश्वर लम्सालले ५ दिन अगाडि निवेदन दिएपनि फागुन १० गतेसम्म डिजिटल प्रणालीमा अद्यावधिक गरेको नक्शा कार्यालयले नदिएको गुनासो गरे ।
भरौलका सिताराम दाहालका अनुसार सुरुमा नापी कार्यालयका कर्मचारीले गाउँ घरमा भएको पुरानो ब्लु प्रिन्ट नक्शा खोजेर ल्याउन लगाए । त्यो नक्शा ल्याएपछि पुनः मालपोत तथा भुमिसुधार कार्यालयबाट श्रेस्तामा भएको ट्रेस नक्शा ल्याउन लगाएपछि नक्शा अद्यावधिक गरे वापत ५ हजार रुपैयाँ अतिरिक्त रकम लिएर ५ दिनमा नक्शा प्रमाणित गरेर दिए ।
इटहरीका नारायण राईका अनुसार घर व्यवहारका लागि बैकमा जग्गा धितो राखेर ऋण लिन डिजिटल प्रणालीमा अद्यावधिक गरिएको नक्शा निकाल्न खोज्दा नापीका कर्मचारीले अतिरिक्त रकम माग गरेपछि नदिदा अनेक दुःख झन्झट दिएर बैकका कर्मचारी बाहेक अन्य व्यक्तिलाई नक्शा दिन नमिल्ने भन्दै एक हप्ता धाउन लगाएर फिर्ता पठाएका छन ।
नापी कार्यालय इनरुवा सुनसरीका प्रमुख नापी अधिकृत हरेराम यादवले जग्गा नापजाँच तथा श्रेस्ता अध्यावधिक निर्देशिका २०७३ अनुसार आफूले बैंकको पत्रअनुसार नक्सा अद्यावधिक गर्न सम्बन्धित बैंकका कर्मचारी नै आउनु पर्ने कानूनी ब्यवस्थाअनुसार गरेको दावी गरे ।
उनले, ‘बैंकको कर्मचारी स्वयम् उपस्थित भएर नक्सा लिने कानून प्रावधान छ । बैंकले तोकेको प्रतिनिधि पठाएको छ भने तुरुन्तै हामी नक्सा दिन्छौ अन्यथा अर्को पक्षलाई नक्सा दिने गरिएको छैन ।’
यादवले नापी कार्यालय इनरुवामा मुल सडकको पाँच सय मिटर टाढैदेखि विचौलियाहरुले बाटो छेकेर सेवाग्राहीलाई आफ्नो पकडमा पारी कार्यालयको नाममा एक हजारदेखि दश हजार रुपैयासम्म रकम असुल गर्ने गरेको दावी गरे ।
उनले भने, ‘विचौलियाको विगबिगि छ, बाटैमा नापीको सही, छाप गरिदिने र सेवाग्राहीबाट असुल गर्ने परिपाटी अन्त्य गर्न निवेदनसमेत नलिने गरी सेवाग्राहीहरुलाई सिधै कार्यालयमा आएर सम्बन्धित फाँटमा रसिद काटेर अध्यावधिक गरेको नक्सा लैजाने ब्यवस्था मिलाएको छु । धेरै नक्साहरु धुजाधुजा भएका छन, च्यातिएका छन, केरमेट भएका छन । भुअभिलेख ब्यवस्थापन डिजिटल प्रणालीबाट हुँदैछ । प्रमाण भएका नक्साहरु तुरुन्तै अद्यावधिक गर्ने गरिएको छ । नभएका नक्साहरु सम्बन्धित सेवाग्राहीबाट प्रमाण जुटाए दिने गरेका छौ ।’
Discussion about this post