सुनसरी । सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । विवाद भएको स्थान नेपाल–भारत सीमाबाट करिब दुई सय मिटरनजिक पर्छ ।
सतीघट्टास्थित प्रस्तावित बिओपीका सशस्त्र प्रहरीले हानेको खुकुरीबाट ६ जना घाइते भएको हरि बाँतरले बताए । उनका अनुसार घाइते हुनेमा दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादव र दीपक बाँतर छन् । घाइतेलाई उपचारका लागि अस्पताल लैजान समन्वय गरेका पत्रकारसमेत रहेका स्थानीय मुक्ति पौडेलले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताए ।
उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो । मनमोहन अस्पतालमा उपचार सम्भव नभएपछि बिएन्डसी अस्पताल लगिएको पौडेलले जानकारी दिए । ‘हाम्री एक बहिनीलाई सशस्त्र प्रहरीले भाटैभाटाले हानेछ । कसले कुट्यो भन्दा सशस्त्रले भनिन्,’ हरि बाँतरले भने, ‘किन कुटेको भनेर सशस्त्रलाई सोध्दा तँ भाग अहिले कति बज्यो, घरभित्र छिर भनेर गाडी रोकेर खुकुरी झिकेर हान्न थाल्यो । जो आउँछ त्यसैलाई मार्छु भन्न थाल्यो ।’ स्थानीय आनन्द यादवले सशस्त्र प्रहरीले गोली हान्ने धम्की दिँदै स्थानीयमाथि हातपात गरेको बताए ।
स्थानीयसँगको झडपमा सशस्त्र प्रहरीतर्फका पनि केही घाइते भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले बताए । उनले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हुलहुज्जत गर्दा घटना भएको दाबी गरे ।
Discussion about this post