यूएई । झापाको दमकमा रहेको सामान्य परिवार । पढाइ, लेखाइ पनि मध्यम दर्जाको । यहीँ परिवारको छुट्टै व्यावसायिक दुनियाँको परिकल्पना गरिरहन्थे, विवेक सुवेदी । उनी हरदिन जसो आफ्नो नामको अगाडि सफल व्यवसायीुको ट्याग लगाउने परिकल्पनामा मग्न हुन्थे । तर, व्यवसायका लागि चाहिन्थ्यो– लगानी । विवेकसँग तीव्र इक्षाशक्ती र क्षमता हुँदाहुँदै पनि लगानीको अभाव थियो । त्यसैले त विवेक रोजगारीका लागि सन् २०१६ मा संयुक्त अरब इमिरेट्स ९यूएई० पुगे । र, अहिले त्यहाँ उनले अहिले आफ्नै साम्राज्य खडा गरेका छन्।
यूएईको दुबई मा ५र६ वर्ष रोजगारी गरेका सुवेदीले दुबई मा मुख्य कार्यालय स्थापना गरेर ‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरु गर्दै व्यवसायमा हात हालेका हुन्। अहिले त उनीसँग गोल्डेन भिषाको समेत सुविधा छ ।
वैदेशिक रोजगारीको सुरुवाती १(२ वर्ष उनले दुःख नगरेका होइनन् । फरक देश, अलग भाषा, त्यसमा पनि नेपाली भएर बनाइएको छविका बाबजुद सुरुवाती सङ्घर्ष कहिल्यै बिर्सिन नसक्ने बताउँछन् उनी । नभन्दै केही वर्षको सङ्घर्षपछि सुवेदीले रोजगारीमार्फत मासिक ६ हजार दिरामसम्म कमाई गर्न थाले । बिस्तारै उनको कमाइ बढ्न थाल्यो । दुबईको बजारलाई उनले नजिकबाट बुझ्न थाले । त्यसपछि उनले सोचे, अब अरूको जागिर मात्र होइन, आफै व्यवसाय सुरु गरेर अरूलाई रोजगार दिन्छु ।
किनकि उनी आफूलाई जागिरे मात्र सीमित राख्न चाहँदैन थिए । मेहनती स्वभावका सुवेदीले मासिक मोटो रकम कमाई गर्न थालेपछि घर खर्च पठाएर रकम जोगाउन थाले । परिवार पनि बुझ्ने खालको पाएकाले होला उनलाई व्यावसायिक जीवनमा हात हाल्न थप सहज भयो । अझ उनी त आफ्नो अहिलेसम्मको सफलताको श्रेय नै परिवारलाई दिन चाहन्छन् ।
करिब ४ वर्षसम्मको कमाइलाई थोरै–थोरै गरेर जोगाएपछि सन्२०२३ को फेब्रुअरीमा कम्पनी स्थापना गरे । नभन्दै उनी आफ्नै कम्पनीको मालिक बने । उनको पहिलो सपना साकार भयो ।
त्यसपछिको उनको सपना थियो, आफूजस्तै मेहनत गर्न चाहने सकेसम्म धेरैलाई रोजगारी दिने। उनले यो सपनालाई पछ्याइरहे । त्यसपछि दुबईलाई मुख्यालय बनाएर सुवेदीले स्काई ब्लिट्ज ट्रेडिङ एलएलसी स्थापना गरेका थिए । यो कम्पनीले स्थापनाको वर्षमा १५ मिलियन दिरामको व्यापार गरिसकेको छ । यही वर्ष सन् २०२४ मा स्थापनाको एक वर्ष पुग्यो । छोटो अवधिमा नै राफ्फे ब्राण्डका विद्युतीय सामाग्रीको व्यापार चम्कन थालेपछि भावी दिनमा थप विस्तारको योजना कम्पनीले बनाएको छ ।
आफ्नो माटोमा पनि व्यवसाय विस्तार गर्ने योजनाअनुरूप उनले झापाको दमकमा ‘राफ्फे रेष्टुरेन्ट एण्ड लञ्ज’ सञ्चालनमा ल्याएका छन् । यति मात्र होइन, यसलाई नेपालभर फैलाउने उनको योजना रहेको छ ।
राफ्फे नामको ब्राण्ड सुरु गरेर विद्युतीय सामाग्रीको बिक्री वितरण गर्दै आएका सुवेदीले चीनको फ्याक्ट्रमा उत्पादन गर्दै आइरहेका छन्। यो ब्राण्डमार्फत सुवेदीको कम्पनीले दुबईमा पावर बैंक, एडप्टर, डाटा केबल, स्पिकर, इयरफोन र एयरपड्स लगायतका वस्तु बिक्री वितरण गर्दै आइरहेको छ । हाल यूएई भरका ९०० स्टोरमा आफ्नो उपस्थिति देखाइसकेको कम्पनीले जानकारी दिएको छ । त्यसैकारण पनि उपभोक्ताहरू समेत आफ्नो कम्पनीबाट सन्तुष्ट रहेको सुवेदीले महसुस गरेका छन् । उनले उपभोक्ताको सन्तुष्टिलाई नै उर्जा मानेका छन् ।
सुरुको एक वर्षमा नै कम्पनीले ३० जनालाई रोजगारी दिएको छ । जसमध्ये १२ जना नेपाली रहेका छन्। सुवेदीलाई यत्तिमै मात्र सन्तुष्टि मिलिरहेको रहेनछ । रातोपाटीसँगको कुराकानीमा उनले सयौँ नेपालीहरूलाई रोजगारी दिने आफ्नो सपना अझै पूरा हुन बाँकी रहेको बताए ।
राजधानी अबुधावीमा कर्पोरेट कार्यालयको स्थापना गरिसकेको राफ्फेले अबको दुई वर्षभित्र सिङ्गो यूएईसहित गल्फ कन्ट्रीमा नै व्यवसाय विस्तारको योजना बनाएको छ । यस्तै, पहिलो वर्ष १५ मिलियनको व्यापार गरेको यो कम्पनीले सन् २०२४ मा ५० मिलियन दिरामको व्यापार लक्ष्य बनाएको छ ।स्मार्टफोन, एप्पल, अमाजोन ब्राण्डका लागि नै वस्तु बिक्री वितरण गर्दै आइरहेको राफ्फेले भावी दिनमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना बुनेको सुवेदीले बताए । नेपालमा पनि व्यवसाय विस्तारको योजना रहेको र त्यसका लागि केही वर्ष लाग्न सक्ने उनको भनाई छ । हालसम्म स्टोरबाटै बिक्री गर्दै आइरहेको यो ब्राण्डले भावी दिनमा अनलाइन व्यापारलाई समेत प्राथमिकता राख्ने बताइएको छ ।
वास्तवमै मेहनत र इच्छाशक्ति भएपछि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका विवेक अरूलाई पनि मेहनत गरिरहन र लक्ष्य पच्छ्याइरहन सुझाव दिन्छन् ।
Discussion about this post