सुनसरी । एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शान्तिपूर्णरुपमा सम्पन्न गर्न र भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ
बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको जाँच हुनेछ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने छन् ।
परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र छन् । यस वर्षको एसइई परीक्षामा जापानबाट १५ छात्रा र ८ छात्र गरी २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परिक्षामा उतीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ ।
कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।त्यसैगरी सुनसरीमा यस वर्ष १३ हजार ६०८ भन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खगेन्द्र सुवेदीले दिएको जानकारी अनुसार जिल्लामा रहेका सामुदायिक तथा निजी विद्यालयहरुबाट १३ हजार ६०८ जनाले एसइई दिने भएका हुन् । इकाइ प्रमुख सुवेदीका अनुसार यो बर्ष जिल्लामा थप दुईवटा परीक्षा केन्द्र सहित ५० वटा केन्द्र निरधारण गरिएकाे बताएको छ ।
जिल्लामा एसइईका लागि बालमन्दिर मावि र पृथ्वीनारायण मावि परीक्षा केन्द्र थप सहित ५० वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ४८ वटा परिक्षा केन्द्र रहेकोमा यो बर्ष भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित चिराैली चाैकमा रहेको श्री पृथ्वीनारायण मावि र इनरुवाकाे बालमन्दिर माविमा परिक्षा केन्द्र थप गरिएको प्रमुख सुवेदीले जानकारी दिए । उनले भने “विद्यार्थीको सहजताका लागि पायक पर्ने गरि केन्द्र निर्धारण गरेको छ ।
यता भोक्राहा नरसिंह गाउँपालिकाले एसइई परिक्षा केन्द्र प्राप्त गरेपछि गाउँवासी तथा विद्यार्थीहरूमा खुसयाली छाएका छन् । करिब ३० बर्ष पछि भोक्रहा नरसिंह गाउँपालिकाले एसइई परिक्षा केन्द्र प्राप्त गरेको कारण स्थानीय विद्यार्थीहरूलाई परीक्षा दिन सहज भएको कारण स्थानीय अभिभावक तथा विद्यार्थीहरूमा खुसयाली छाएको स्थानीय अंसारीले जानकारी दिए ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ चिराैली चाैक स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र ताेकएपछि उक्त विद्यालयमा ४ वटा विद्यालयहरु समावेश हुने भएका छन् ।
श्री शारदा माध्यमिक विद्यालय भोक्राहा नरसिंह १, श्री जनता माध्यमिक विद्यालय शिवगन्ज भोक्राहा नरसिंह ३, श्री जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ७ र श्री जामिया इस्लामीया भोक्राहा नरसिंह ४ लाई समावेश गरेका हुन।
उक्त समावेश परिक्षामा ९६ जना छात्र र १०६ जना छात्रा गरि जम्मा २ सय २ जना विद्यार्थिहरुको सहभागी रहने केन्द्र अध्यक्ष शंकार मेहताले जानकारी दिए ।त्यसैगरी भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले पहिलोपटक स्थानीय विद्यार्थीहरूले आफ्नै पालिकामा भाेली बिहीबारदेखी एसइई परिक्षामा सहभागी हुने सम्पुर्णलाई हार्दिक स्वागत गर्दै शुभकामना समेत व्यक्त गरेका छन् ।
Discussion about this post