इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ । केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गरेका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बनेको छ ।
पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गरेको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खेतीतर्फ आकर्षित भएका स्थानीय सन्तोष मण्डल बताउँछन् ।
मौसमी तथा बेमौसमी फर्सीको मुण्टो र फर्सीको फल समेत बजारमा बिक्री हुने भएकाले फर्सी खेतीमा मेहता जस्तै उपेन्द्र यादवले एक बिघामा, बालेश्वर यादवले १५ कट्ठामा, कृपाराम मेहताले झण्डै एक बिघामा, राम यादवले १० कट्ठामा, गुदर यादवले १५ कट्ठामा, डम्बर यादवले १० कट्ठामा, रमेश यादव विक्रमले ५ कट्ठामा र महानन्द यादव र पेशाले चिकित्सक समेत रहेको उपेन्द्र मेहताले एक बिघा गरेर सयौँ बिघामा फर्सी लगाएका छन् ।
नरसिंह टाप्पुको नामले चिनिने भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ र ७ नरसिंहका सय बढी किसानले फर्सीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
स्थानीय स्तरमै फर्सीखेती गरेर स्थानीय उपभोक्तालाई ताजा फर्सीको मुण्टो र फर्सी उपभोग गराउने उद्देश्यले नै फर्सी खेती गरेको किसान रमेश यादवले बताउछन् ।
पाँच वर्ष अघिदेखि किसानले प्रति कट्ठामा दुई हजारदेखि पाँच हजार रुपैयाँको लगानीमा फर्सीखेती सुरु गरेर उनीहरूले राम्रो आम्दानी गरिरहेको छ ।
किसानले फर्सीको मुण्टो होलसेलमा प्रति मुठा १० देखि २० रुपैयाँ र काँचो फर्सी प्रति केजी १५ देखि ३० रुपैयाँमा बेच्ने गरेको छ । पाकेको फर्सी जिल्ला बाहिरका व्यापारीले खेत वा घरबाटै लाने गरेको किसान कृपाराम मेहताले जानकारी दिए । फर्सीको मुण्टो होलसेलमा खेतमा नै खपत हुने गरेको छ ।
किसान मेहताका अनुसार एउटै सिजनमा हावाहुरी र पानीबाट जोगिँदा उत्पादित फर्सीबाट प्रतिबिघामा दुई लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।
Discussion about this post