इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित कोशी प्रदेशका तराईका जिल्लाहरुमा केही दिनदेखि निरन्तर चलिरहेको तातो हावा र चर्को गर्मीले गर्दा यहाँको जनजीवन प्रभावित बन्न पुगेको छ ।
मंगलबार दिउँसो इनरुवाको तापक्रम ४२ डिग्रि सेल्सियस भन्दा बढी थियो । दिनभरी साँझसम्मै तातो हावा चलेर घरबाट बाहिर निस्किन सकिने स्थिति थिएन ।
सुनसरी सदरमुकाम इनरुवामा अहिलेसम्म ३८र ३९ डिग्रि सेल्सियसभन्दा माथिको गर्मी भएको थिएन भने यहाँ गर्मी महिनामा तातो हावासमेत चलेको अनुभव इनरुवाबासीहरुसँग छैन ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार मंगलबार इनरुवामा ४२, धरानमा ४०, मोरङको विराटनगरमा ४२ डिग्रि सेल्सियस तापक्रम रहेको थियो ।
चर्को गर्मी र तातो हावा चलेका कारण केही दिनदेखि सुनसरी सदरमुकाम इनरुवा बजार दिउँसो सुनसान बन्न थालेको छ । दिउँसो पसल खुलेपनि उपभोक्ताहरु कोही पनि नआउँदा ब्यापारीहरु तातो हावा खाएर बस्नु परेको स्थिति छ ।
मजदुरी गरेर खाने वर्गहरु र विद्यार्थीहरु तातो हावाबाट सबैभन्दा बढी प्रभावित बन्न पुगेका छन । विशेष गरेर इनरुवाका सामुदायिक विद्यालयहरुमा केही दिनदेखि विद्यार्थीहरुको संख्या घटेको छ । भर्ना भएका मध्ये आधा पनि विद्यार्थीहरु विद्यालय नआउँदा शिक्षकहरु विद्यालयमा बसेर घर फर्किनु परेको स्थिति छ ।
Discussion about this post