सुनसरी ।जंगली घाँसे मैदानमा देखिने, रहने ‘बेङ्गाल फ्लोरिकन’ अर्थात् खरमुजुर विश्वकै लागि एक दुर्लभ चरा हो । नेपालमा ८० देखि १०० सम्मको संख्यामा रहेको अनुमान गरिने खरमुजुर कोशी टप्पु क्षेत्रमा मात्र ३२ वटा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । गणितीय हिसाबमा दुर्लभ खरमुजुर कोशी टप्पु क्षेत्रमा आउने पर्यटकहरूको ‘चेकलिस्ट’ मा पर्ने एक महत्त्वपूर्ण ‘स्पेसिस’ हो ।
दुर्लभ खरमुजुर यसै ‘खास’ हुने भई हाल्यो । त्यसबाहेक यसले प्रजननको समयमा देखाउने व्यवहार पन्छी अवलोकनकर्ताका लागि खास हुन्छ । किनभने संसर्गको बेला भाले खरमुजुरको ‘हर्कत’ हेर्न लायकको हुन्छ । पोथीलाई आकर्षित गर्न भालेले गर्नसम्मको मिहिनेत गर्नुपर्छ । पोथीको संख्या कम भएकाले पनि भालेलाई स्वाभाविक रूपमा प्रतिस्पर्धामा उत्रिनु पर्ने स्थिति छ । पछिल्लो गणनामा कोशीमा ३२ खरमुजुरमध्ये भालेको संख्या २० थियो भने पोथीको संख्या १२ मात्र थियो ।
त्यसैले आफ्नो वंश विस्तार गर्न भाले खरमुजुरले ‘जल्वा’ देखाउनै पर्छ । भुइँमा उफ्रिँदै भालेले पोथी आकर्षित गर्न एक प्रकारको नृत्य देखाउँछ । पोथीलाई आकर्षित बनाउन भालेले गर्ने त्यही नृत्य हेर्न कोशी पुग्ने पन्छी अवलोकनकर्ता जोकोही आकर्षित हुन्छन् । खरमुजुर घाँसे मैदानमा पाइने एक आकर्षक चरा हो । खुट्टासँगै घाटी लामो हुन्छ यसको । टाउकोमा कल्कीजस्तो देखिने खरमुजुर बच्चा अवस्थामा खैरो हुन्छ भने पोथीहरू पनि खैरा हुन्छन् । चैतदेखि करिब असारसम्म अर्थात् प्रजननको समयमा वयस्क भाले काला देखिने गर्छन् । पखेटा भने सेता नै हुन्छन् । कालो शरीरमा सेतो पखेटा हालेर उफ्रिँदा आकर्षक देखिन्छ । जसमा पोथीहरू आकर्षित हुन्छन् ।
सामान्यत: चैतदेखि असार महिनासम्मको समयमा खरमुजुर प्रजननका लागि तयार हुन्छ । चैतदेखि वैशाखसम्म भाले खरमुजुरको नृत्य हेर्ने बेला हो । तर, कोशी क्षेत्रमा सामान्य तरिकाले देख्न सकिने खरमुजुरको ‘प्रेमालाप’ आजकाल दुर्लभ हुँदै गएको छ । ‘यति बेला चरा हेर्न गुडहरू देखिनु पर्ने बेला हो । अलिकति घाँसे मैदानमा छिर्ने बित्तिकै राम्रोसँग देखिन्थ्यो,’ कोशी क्षेत्रमा पन्छी संरक्षणमा काम गर्दै आएको कोशी पन्छी समाजका पूर्वअध्यक्ष तथा पन्छी अवलोकनकर्ता अनिश तिम्सिना भन्छन्, ‘तर, अहिले त्यसो गुड लगाएको देखिएको छैन ।’
हुनत: कोशीका लागि रैथाने जस्तै हो, खरमुजुर । तर, तिम्सिनाले भने जस्तै घाँसे मैदानमा आश्रित खरमुजुर देख्न भने मुस्किल पर्दै गएको छ । पुरानो समयमा नेपालको पूर्वदेखि पश्चिम तराईभर खरमुजुर देखिने विज्ञहरू बताउँछन् । तर, लोपोन्मुख रहेको यो प्रजाति अहिले भने संरक्षित क्षेत्रहरूभित्र मात्र सीमित छ । संरक्षित क्षेत्रहरू कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मात्रै खरमुजुर देखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा भने सन् २००७ यता यो पन्छी देखिएको छैन ।
नेपालबाहेक भारतको ब्रह्मपुत्र नदीको किनारमा र कम्बोडियामा मात्रै खरमुजुरको उपस्थिति छ । भियतनाम र बङ्गलादेशमा समेत कुनै बेला देखिएको यो पन्छी त्यहाँबाट लोप भइसकेको अनुमान छ । विशाल टापुहरूको घाँसे मैदान रहेको कोशीमा पनि कुनै समय खरमुजुर सहजै देखिन्थ्यो । तर, पछिल्लो समय यसको संख्या कोशी क्षेत्रमा समेत घट्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१२ मा गरेको गणनाको क्रममा कोशी क्षेत्रमा ४७ ओटा खरमुजुर रेकर्ड गरिएको थियो । खरमुजुरको संख्या तथा बासस्थानको सात जना नेपाली चराविज्ञहरूले गरेको सर्वेक्षणसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘जर्नल अफ थ्रेटन्ड ट्याक्सा’ मा लेख नै प्रकाशित भएको थियो ।
तर, २०२४ मार्चमा भएको पछिल्लो सर्वेक्षणमा भने कोशी आसपासको क्षेत्रमा ३२ वटा मात्र खरमुजुर देखिए । कोशी नदी किनारको घाँसे मैदान, आरक्षको पथरी, भागलपुर, सिसौलीघाट र प्रकापुरक्षेत्रमा एक महिनाअघि खरमुजुरको गणना गरिएको थियो । करिब १२ वर्षपछि भएको गणनामा कोशी क्षेत्रमा १५ वटाले खरमुजुरको उपस्थिति घटेको देखिन्छ । मार्च २०२४ मा गरिएको सर्वेक्षणमा समेत सहभागी भएका अनिश तिम्सिना खरमुजुरको बासस्थानको अवस्था कहालीलाग्दो रहेको बताउँछन् ।
खरमुजुर नेपालको रैथाने भए पनि कहिलेकाहीँ आंशिक बसाइँसराइ गर्ने विज्ञहरूले बताउँदै आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले सन् २०१२ मा स्याटलाइट ट्यागिङ गरेर खरमुजुरबारे विस्तृत अध्ययन गरेको थियो । स्याटलाइटको माध्यमबाट चराको ‘मुभमेन्ट’ अवलोकन भएको थियो त्यति बेला । ट्याग गरिएका खरमुजुरको अध्ययन गर्दा बच्चा कोरलेपछि यी चराहरू करिब ८० किमी जस्तो बसाइँसराइ गरेका थिए । बसाइँसराइ गरिएका यी क्षेत्रहरूमा कम खेतीपाती लगाइन्थ्यो भने जनघनत्वसमेत कम थियो ।
Discussion about this post