इनरुवा – सुनसरीको इनरुवा नगरपालिका २ नं. वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरोकारवालाको भेलाबाट चार दर्जन बढी योजनाहरू छनौट गरेको छ।
शनिवार आयोजित योजना तर्जुमा तथा छनौट भेलामा विभिन्न क्षेत्रका सरोकारवालाहरूले आवश्यकताका आधारमा सडक, ढलनाला, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाई, विद्युत, र महिलाका लागि सिप तथा आयआर्जनका कार्यहरू प्राथमिकतामा राखेर योजना चयन गरेका हुन्।
वडाअध्यक्ष विश्वनाथ ठाकुरका अनुसार भेलामा कालोपत्रे सडक, पक्की ढलनाला निर्माण, आरसीसी ढलान सडक, कच्ची सडकमा ग्राभेल गर्ने कार्य, सडक बत्ती, पानी निकास लगायतका योजनाहरू समावेश गर्न बजेट विनियोजनका लागि सुझाव दिएको छ।
भेलामा २ सयभन्दा बढी जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, सामाजिक अगुवा, शिक्षक, बुद्धिजीवी, कर्मचारी, युवा, महिला, व्यापारी व्यवसायी सहभागी भएका थिए।
सरोकारवालाहरूले बालमन्दिर रोडदेखि रेडक्रस हुँदै जाने सडकमा दुवैतर्फ ढलनाला, रामजी भवनदेखि पूर्व र पश्चिम दुवैतर्फ ढलनाला, बालमन्दिर रोडदेखि भूसुधार कार्यालयसम्म ढलनाला, नहरदेखि अनिल पण्डितको घरसम्म आरसीसी सडक निर्माण, पपुलर एफएमदेखि पश्चिम ग्राभेल सडकजस्ता ठूला योजनाहरू पनि प्रस्ताव गरेका छन्।
योजना तर्जुमा तथा छनौट भेलामा कोशी प्रदेशसभाका सांसद रामप्रसाद मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, कार्यपालिकाका सदस्य, वडासदस्य, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए।
Discussion about this post