सप्तरी । काेशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३६ ढोका खुला गरिएको छ। साँझ ६ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ३ हजार ८६० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।
पानीको बहाब बढ्दै जाँदा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमापारीका जिल्लाका डिएम तथा सम्बन्धीत निकायसँग समन्वय गरेर ढोका खोल्ने काम भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए।
बहाव उच्च भएसँगै सप्तकोसी नदीको बीचमा रहेको गोवरगाढा गाउँका बासिन्दा घेरिएका छन् । गोवरगाढाका स्थानीय अहिले सुरक्षित रहेको र जोखिम देखिए उद्दार गर्ने हनुमान नगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।
कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ ।
सप्तकोसी अहिलेसम्मको इतिहासमा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो । कोशी व्यारेज बन्दा शुरुवातका वर्षमा कोसी नदीले झन्डै आठ लाख क्यूसेक पानीको क्षमता धानेपनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घटदै गएको पाइन्छ । पछिल्लो समय कोशी व्यारेज भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।
२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो । त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।
Discussion about this post