युवालाई बिना धितो ऋण दिएर वैदेशिक रोजगारीमा पठाइने अब वैदेशिक रोजगारीमा जाने युवाहरूले बिना धितो ऋण पाउने भएका छन्
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने भएको हो।सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ।
सरकारले नयाँ र बढी आय हुने श्रम गन्तव्य मुलुकहरूमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति र विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहन गरेको मौद्रिक नीतिमा उल्लेख छ।
सोही प्रोत्साहनकै कारण आर्थिक वर्ष २०८०/८१ को १० महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा १९।३ प्रतिशत र अमेरिकी डलरमा १७।३ प्रतिशतले वृद्धि भएको छ।
वैदेशिक रोजगारीमा जानेको संख्या अझै उच्च नै रहेकोले आर्थिक वर्ष २०८१/८२ मा पनि विप्रेषण आप्रवाह सामान्य रहने आकलन राष्ट्र बैंकको छ।
Discussion about this post