इनरुवा —सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले उराँव (झाँगड) समुदायको महान पर्व ‘कर्मा धर्मा’को अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले २०८१ असोज २ गते बुधवारको दिन विदा घोषणा गर्दै, सम्पूर्ण सरकारी कार्यालयहरू, वडा कार्यालयहरू, विद्यालयहरू, र स्वास्थ्य संस्थाहरू (आवश्यक सेवाहरू बाहेक) बन्द रहने जानकारी दिएको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादद्वारा हस्ताक्षरित सूचनामा, उराँव जातिको बाहुल्यता रहेको क्षेत्रमा धार्मिक पर्वको सम्मानस्वरूप उक्त विदा दिने निर्णय २०८१ असोज १ गतेको कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पारित गरिएको जनाइएको छ।
अध्यक्ष आजादले विदा घोषणा गर्दै भने, “हामीले गाउँपालिकाभित्र रहेका सबै समुदायहरूको संस्कार र धर्मलाई सम्मान गर्दै, उनीहरूको मौलिक धार्मिक पर्वलाई संरक्षण गर्ने उद्देश्यका साथ यो निर्णय गरेका छौँ। यस विदाले उराँव समुदायलाई आफ्नो सांस्कृतिक परम्परा मनाउने अवसर प्राप्त हुनेछ र उक्त समुदायमा खुशीको सन्देश पनि पुर्याउने बताए।”
विदाको घोषणा सँगै, गाउँपालिकाले सम्बन्धित सबैलाई उक्त निर्णयको पालना गर्न निर्देशन दिइएको छ। उराँव समुदायले मनाउँदै आएको पर्वको महत्त्वलाई बुझ्दै, विगतका वर्षहरूमा पनि यसरी नै विभिन्न समुदायका प्रमुख पर्वहरूमा विदा दिने परम्परालाई गाउँपालिकाले निरन्तरता दिँदै आएको छ।
‘कर्मा धर्मा’ पर्व उराँव समुदायको प्रमुख धार्मिक चाडपर्व मानिन्छ, जसले सामुदायिक एकता र आपसी सहयोगको भावना बढाउने विश्वास गरिन्छ।
Discussion about this post