दिपेन्द्र यादव /इनरुवा – सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायले करम पूजाको अवसरमा आफ्ना सांस्कृतिक र धार्मिक परम्पराको जीवन दर्शन प्रदर्शन गरेका छन्। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले आयोजना गरेको यस कार्यक्रमले उराँव समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारलाई झल्काएको छ।
प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार जीवन दर्शन प्रदर्शनले विशेष गरी उराँव युवापुस्तालाई आफ्नो परम्परा, संस्कार, तिरिजिवाज, र कलाबारे जानकारी दिने उद्देश्य बोकेका छन् । सामूहिक जमरा राखेको एक हप्तापछि करम पूजा सम्पन्न गरी यो कार्यक्रमको आयोजना गरिएको हो।
इनरुवामा उराँव समुदायको ठूलो सहभागितामा झाँकी र र्यालीसमेत निकालिएको थियो। उनीहरूले आफ्नै भाषामा गीत गाएर, पारम्परिक नृत्य प्रस्तुत गर्दै, मौलिक पहिरनमा झाँकी निकालेका थिए। करम पूजाका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले सबै जातजातिको संस्कार, संस्कृति र पहिचानको संरक्षणको महत्त्वमा जोड दिँदै राज्यले उराँव समुदायलाई प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए।
पूर्व संघीय मन्त्री सिताराम मेहताले उराँव समुदायको भाषा, धर्म, संस्कृति, रीतिरिवाजको संरक्षणमा राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए। यसै क्रममा, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजन मेहताले उराँव समुदायलाई तराई मधेसको धर्ती पुत्र भन्दै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षणका लागि काम गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा विशेष अतिथिका रूपमा आएका भारतको रांची विश्वविद्यालयका प्रा.डा. हरी उराँवलाई ‘उराँव समुदाय सम्मान २०२४’ बाट सम्मानित गरिएको थियो। उनले उराँव समुदायको पहिचान र संरक्षणका लागि नेपाल सरकारले गरेका कामहरूको प्रशंसा गर्दै भविष्यमा पनि यस क्षेत्रको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उराँव कलाकारहरूले नृत्य, गीत, नाटक र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। यसबाट उराँव समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण र प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुगेको प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले जानकारी दिए।
प्रतिष्ठानले आगामी दिनमा पनि यसरी नै आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूको निरन्तरता दिने योजना बनाएको छ।
Discussion about this post