दिपेन्द्र यादव /इनरुवा । सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गाेप्य सूचनाको आधारमा पटका बरामद गरेको हो। सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
प्रदेश प्वाइन्ट अनलाइनलाई प्राप्त सूचनाका आधारमा, सशस्त्र प्रहरी बलको बीओपी लौकहीबाट खटिएको टोलीले तस्करीका गतिविधि बढिरहेको संकेत पाएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको थियो। विशेष निगरानी र सूक्ष्म अनुगमनपछि, प्रहरीले भारतबाट ल्याइएको पटका नियन्त्रणमा लिन सफल भएको हो। स्थानीय स्रोतहरूले बताएअनुसार, पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा पटका लगायतका अन्य वस्तुहरूको अवैध तस्करीमा वृद्धि भएको छ, जसले सुरक्षा निकायहरूलाई थप सक्रिय बनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक आवेश पुनले भने, “हामीले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूलाई निरन्तर निगरानी गरिरहेका छौँ। यस पटक पनि प्राप्त सूचनाको आधारमा टोली परिचालन गरेर छापामार कारबाही गर्न सफल भयौँ। तस्करीमा संलग्न रहेका केही व्यक्तिहरू भने घटनास्थलबाट भाग्न सफल भए, तर उनीहरूको खोजी कार्य जारी छ।”
यता सुनसरी जस्ता सीमावर्ती क्षेत्रहरूमा अवैध तस्करी रोक्नको लागि सशस्त्र प्रहरी र स्थानीय प्रशासनको महत्वपूर्ण भूमिका रहेको छ। यद्यपि, तस्करी न्यूनीकरणमा विभिन्न चुनौतीहरू पनि देखिएका छन्, जसमा कमजोर सुरक्षा निगरानी, सीमावर्ती क्षेत्रको लम्बाई, र स्थानीय बासिन्दाहरूले तस्करहरूलाई दिइने साथ मुख्य चुनौतीको रूपमा देखिएकाे जानकारहरू बताउँछन् ।
Discussion about this post