इनरुवा– सप्तकोशी नदीमा आएको बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षित बन्यजन्तुहरू भारततर्फ बगेर गएपछि सीमापारी भारतीय क्षेत्रमा आतंकको स्थिति उत्पन्न भएको छ। सुनसरीसँग सिमाना जोडिएको भारतको बिहार राज्यका सुपौल जिल्लाका भिमनगर, भगवानपुर, रानिगञ्ज, कटैया, पुर्नबास क्षेत्रसहितका गाउँहरूमा अर्ना लगायत अन्य वन्यजन्तु पुगेका छन्।
भारत सरकारको बन विभाग र सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट सुरक्षित राख्न विशेष अभियान सुरु गरेको छ। गाउँवासीहरू घरभित्र र छतमा बसेर आफ्नो ज्यान जोगाइरहेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, अर्नाको आक्रमणबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। २२ वर्षीय मुकेश यादव र नारायण यादवको ज्यान गएको पुष्टि भएको छ।
बन्यजन्तुका कारण भएको क्षति र आक्रमणका घटनापछि भारतीय नागरिकहरूले सडकमा यातायात रोकेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सुरक्षाको माग गर्दै भारतीय प्रशासनसँग वन्यजन्तु नियन्त्रणमा लिनका लागि दबाब दिएका छन्।
भारतीय मिडियाका अनुसार, चार अर्नालाई सुरक्षाकर्मीको सहयोगमा मारिएको छ, जसका केही फुटेजहरू सार्वजनिक भएका छन्। यसैबीच, बाढीका कारण अन्य वन्यजन्तुहरू पनि भारतीय भूमिमा पुगेका छन्, जसमा बँदेल, हरिण, निलगाई, बाँदर, अजिङ्गर लगायतका जनावरहरू छन्। यी जनावरहरू गाउँ नजिकका खेतबारीमा आश्रय लिएका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले भारतीय पक्षसँग अनौपचारिक सहमति गरेर अर्नाहरूलाई फर्काउने प्रयास भइरहेको जानकारी दिए। उनले अर्नाहरू केही समयपछि आफ्नो बासस्थानमा फर्कने सम्भावना रहेको बताए।
यस घटनाका सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि आफ्नो धारणा व्यक्त गरेका छन्। उनले बाढीका कारण वन्यजन्तुहरू बगेर भारतीय भूमिमा पुगेको भए पनि तिनीहरूलाई फर्काउने कुनै विशेष विधि नभएको बताए। उनले थपे, “भारतबाट नेपाल पसेका हात्तीहरूलाई फर्काउन भारतले पहल नगरेको उदाहरण हामीसँग छ, यसले अर्ना फर्काउन पनि त्यस्तै कठिनाइ हुन सक्छ।”
Discussion about this post