भन्टावारी । सुनसरीको कोशी गाउँपालिका अन्तर्गत भन्टावारी क्षेत्रमा तैनाथ अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रहरीमाथि लापरबाही र अवैध असुलीको आरोप लागेका छन्। नियमित पाेस्टमा नबसि प्रहरीहरूले विभिन्न स्थानमा पुगेर चेकजाँचको बहानामा सवारी चालकहरूसँग आर्थिक असुली गरिरहेको स्थानीयहरूको गुनासो छ। यसले भारतीय र नेपाली सवारी चालकहरूमा व्यापक असन्तुष्टि सिर्जना गरेको छ।
सूत्रहरूका अनुसार, प्रहरीहरूले बिहान हरिपुर, दिउँसो तिनकुने, र बेलुका कोशी ब्यारेज क्षेत्रमा पुगेर चेकजाँच गर्दै आएका छन्। चेकजाँचको क्रममा भारतीय सवारी चालकहरूबाट ५ सयदेखि एक हजार रुपैयाँसम्म असुल्ने गरिएको गम्भीर आरोप लागेको छ। भारतीय चालकहरूले कुनै नियम उल्लंघन नगर्दा पनि चेकजाँचको नाममा रकम असुल्न बाध्य भएको बताउँदै आएका छन्। उनीहरूका अनुसार, यस्तो असुली अन्यायपूर्ण मात्र नभई आर्थिक भार थप्ने कार्य हो।
यसैगरी, नेपाली सवारी चालकहरू पनि यो असुली कार्यबाट प्रभावित भएका छन्। लाइसेन्स र सवारी धनी प्रमाणपत्र भएका चालकहरूमाथि पनि कारवाहीका नाममा २ सयदेखि ५ सय रुपैयाँसम्म अवैध असुली गर्ने गरेको उनीहरूले गुनासो गरेका छन्। यो अवस्थाले उनीहरूलाई आर्थिक तथा मानसिक दवाबमा पारेको छ।
यस प्रकारको अवैध असुलीले ट्राफिक व्यवस्थापनलाई सुधार गर्नुको सट्टा प्रहरीप्रति स्थानीय बासिन्दाको विश्वास कमजोर बनाएको छ। ट्राफिक प्रहरीहरूले आफ्नो मूल कार्यस्थलमा नबसी अन्य स्थानमा चेकजाँच गर्नु आफैंमा नियम विपरीत रहेको स्थानीयहरूले बताएका छन्। यस प्रकारको गतिविधिले सवारी चालकहरूमा व्यापक असन्तोष फैलिएको छ।
स्थानीय नागरिकहरूले यस समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले पनि यस घटनाप्रति चासो व्यक्त गर्दै यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। समयमा यस गतिविधिलाई नियन्त्रणमा नलिइएमा, स्थानीय स्तरमा असन्तोष अझै बढ्न सक्ने जोखिम रहेको बताइएको छ।
ट्राफिक प्रहरीको यस प्रकारको गतिविधिले कानुनी शासनमा प्रश्न उठाएको छ। अवैध असुली र चेकजाँचका नाममा आर्थिक भार थप्दा सवारी चालकहरूमा आक्रोश मात्र होइन, अन्यायको भावना पनि बढ्दै गएको जनाइएको छ।
Discussion about this post