सुनसरी – २१ औं महिला सामुदायिक स्वयंसेविका दिवस, “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता” भन्ने मुल नाराका साथ भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयले भव्यता साथ मनाइएको छ।
कार्यक्रम भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिका रूपमा अजमल अख्तर आजाद, विशिष्ट अतिथिका रूपमा सुवर्ण घिमिरे र अन्य अतिथिहरूका रूपमा वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ८ का वडाध्यक्ष उसमान मियाँ (भाेला हाजी), कार्यपालिका सदस्य रामेश्वर खत्वे र स्वास्थ्य शाखा प्रमुख हिरा साह उपस्थित थिए।
कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानका बारेमा बोल्दै उपाध्यक्ष सुनिता कुमारी उराँवले भनिन्, “महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य सेवामा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनीहरूले स्वास्थ्य सम्बन्धी जानकारी र सन्देशलाई घरघरमा पुर्याएर समुदायलाई स्वास्थ्यमैत्री बनाउँछन्। यसका साथै, उनीहरूको सक्रियता र जागरूकता अभियानले महिला र बालबालिका स्वास्थ्यको क्षेत्रमा पनि सुधार ल्याएको छ।”
अध्यक्ष उराँवले महिलाका स्वास्थ्य स्वयंसेविकाहरूलाई एक अडिग आधारशिला भएको र स्वास्थ्य समाज निर्माणका लागि उनका योगदानको महत्वको चर्चा गर्दै, सरकार र अन्य सरोकारवालाहरूसँग मिलेर उनीहरूको कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष अजमल अख्तर आजादले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका समाजमा अझ महत्त्वपूर्ण बन्दै गएको बताएका छन्। उनले भने, “महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याउने, पोषण सम्बन्धी जागरूकता फैलाउने र जीवन रक्षाका उपायहरूको महत्त्व जनाउने काम गर्दै आएका छन्। उनीहरूको योगदानले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ।” उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कार्यलाई निरन्तरता दिनका लागि सरकार र समुदायको साझा प्रयास आवश्यक भएको बताए।
त्यसैगरी विशिष्ट अतिथि सुवर्ण घिमिरेले महिला स्वास्थ्य स्वयंसेविकाको कार्यले स्वास्थ्य समाज निर्माणमा ठूलो योगदान पुर्याएको बताएका छन्। उनले स्वास्थ्यको क्षेत्रमा भएका केही चुनौतीहरू र तिनका समाधानका उपायहरूमा आफ्नो विचार व्यक्त गरेका छन्। उनले भने, “सार्वजनिक स्वास्थ्यको दृष्टिकोणबाट महिलाहरूको भूमिका अनिवार्य छ। महिला स्वास्थ्य स्वयंसेविकाहरू घरघरमा पुगेर स्वास्थ्यका बारेमा सचेतना ल्याइरहेका छन् जसले समग्र स्वास्थ्य संरचनामा सुधार ल्याउनेछ।”
यता वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारीले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका गाउँका प्रत्येक घरमा प्रभाव पार्ने भएकाले, तिनीहरूको कार्यलाई अझ सम्मान र प्रोत्साहन दिनुपर्ने कुरा बताए। उनले भने, “आजको कार्यक्रममा उपस्थित भएका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई हामी कदर गर्दछौं।”
त्यसैगरी वडा नम्बर ८ का वडाध्यक्ष उसमान मियाँ (भाेला हाजी) ले महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वका बारेमा केही प्रमुख बुँदाहरू प्रस्तुत गर्दै, “महिला स्वास्थ्य स्वयंसेविकाले केवल स्वास्थ्य सेवाहरू मात्र प्रदान गर्दैनन्, उनीहरूले सामाजिक र सांस्कृतिक परिवर्तनका लागि पनि ठूलो योगदान दिन्छन्।”
कार्यक्रमको समापनमा स्वास्थ्य शाखा प्रमुख हिरा साहले महिला स्वास्थ्य स्वयंसेविकाकाे दिन प्रतिदिनको कामको महत्त्वलाई प्रकट गर्दै, तिनीहरूको साहस र निष्ठालाई सम्मान जनाएका छन्। उनले भने, “महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान बिना हामी समुदायमा स्वास्थ्यको स्तरलाई समृद्ध बनाउन सक्दैनौं। आजको दिन हामी सबैले उनीहरूको कठिन परिश्रम र त्यागको कदर गर्नुपर्ने बताए।”











Discussion about this post