धनुषा । धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि विवादका बीच नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी रद्द गरिएको विषय अदालतमा विचाराधीन रहेका बेला यो प्रमाणपत्र प्रदान गरिएको हो। निर्वाचन आयोगले कमलको उम्मेदवारी खारेज गरे पनि उनको चुनाव चिन्हमा परेको मतको लगत राख्न निर्देशन दिएको थियो।
तर त्यसको भोलिपल्ट आयोगले अर्को पत्र जारी गर्दै मतगणनाको अन्तिम नतिजा सार्वजनिक नगर्न र विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिन निर्देशन दिएको थियो। यसबीच नेकपाका कार्यकर्ता तथा समर्थकहरूले व्यापक दबाब सिर्जना गरेपछि निर्वाचन अधिकृतको कार्यालयले अन्ततः यादवलाई प्रमाणपत्र दिएको बताइएको छ।
मत परिणाम अनुसार मातृका प्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रामपलटन साहले ९ हजार ४८५ मत पाएका छन् भने नेकपा (एमाले)का रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन्। उम्मेदवारी खारेज भए पनि रास्वपाका कमलको चुनाव चिन्हमा परेको मत भने यादवले पाएको मतभन्दा झन्डै दोब्बर रहेको बताइएको छ।
यस विषयमा नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले पनि विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन २०७४ अनुसार कमलको उम्मेदवारी खारेज गरिसकेपछि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएका थिए।
हाल रास्वपाका उम्मेदवार कमलको कालोसूचीसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, जसका कारण धनुषा–१ को निर्वाचन परिणामलाई लिएर राजनीतिक तथा कानुनी बहस जारी रहेको छ।










Discussion about this post