इनरुवा । सुनसरीकाे भोक्रहा नरसिंह गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा पहिलोपटक खुला चौरमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
आइतबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, प्रहरी, तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक जदुलाल साहका अनुसार उक्त कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्थाबारे छलफल भएको थियो। कार्यक्रममा अभिभावकहरूले विद्यार्थीहरूको शिक्षामा सुधार गर्नुपर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्य विद्यालय, अभिभावक, र समुदायबीचको सम्बन्ध सुदृढ पार्दै शिक्षा क्षेत्रको समग्र सुधार गर्नु रहेको प्रधानाध्यापक साहले बताए। उनले कार्यक्रममा विद्यालयको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाबारे समेत जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी प्रहरी प्रतिनिधिले विद्यालय परिसरलाई सुरक्षित र अनुशासित बनाउने विषयमा सहकार्य गर्न प्रतिवद्धता जनाएका थिए भने सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमहरूले विद्यालयको पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग पुग्ने धारणा राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल मण्डलले विद्यालयलाई अझ प्रभावकारी र विद्यार्थीमैत्री बनाउन अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले विद्यालयको समस्यालाई समाधान गर्न सबै पक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा अभिभावकहरूले विद्यालयको भौतिक पूर्वाधार सुधार, थप स्रोतसाधन जुटाउने, र विद्यार्थीहरूको सिकाइ गतिविधिलाई प्रवर्द्धन गर्न सुझाव दिएका थिए।
कार्यक्रम समापन गर्दै अध्यक्ष मण्डलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।











Discussion about this post