सुनसरी । आज वैशाख २ गते, सुनसरी जिल्लाभरि जुरशितल तथा सिरूवा पर्व उत्साहपूर्वक मनाइएको छ। विशेषगरी मैथिली, थारू, मुसहर, र अन्य मधेसी समुदायबीच यो पर्वले नयाँ वर्षको स्वागत मात्र होइन, आशीर्वाद, शुद्धता र परम्पराको संरक्षणको सन्देश पनि बोकेको देखिन्छ।
इनरुवा, रामधुनी, हरिनगरा, गढी, भोक्राहा नरसिंह, देवानगंज, कोशी लगायतका गाउँपालिका तथा इनरुवा नगरपालिका क्षेत्रहरूमा बिहानैदेखि मानिसहरू एकअर्कालाई पानी छ्यापी, टिका लगाई, मिठा परिकार खुवाएर शुभकामना आदान–प्रदान गरेका छन्।
इनरुवा–६ का स्थानीय समाजसेवी शिवचन्द्र यादवले भने, “जुरशितल भनेको शुद्धता र शीतलताको प्रतीक हो। यो दिन मानिसले पुराना मनमुटाव बिर्सेर एकअर्कासँग समभावका साथ अघि बढ्ने प्रण गर्छन्।”
सिरूवा पर्व पनि यही दिन सुरु हुने परम्पराले यो दिनलाई झन् विशेष बनाएको छ। सिरूवा मेलाको पहिलो दिन गाउँ–गाउँमा पूजाआजा, ध्वजापूजा र सलहेस थान लगायतका धार्मिक स्थलमा दर्शन गर्ने चलन रहिआएको छ।
“नयाँ वर्षको पहिलो पानी, आशीर्वाद जस्तै हुन्छ,” भन्छन्, रामधुनी–५ का शिक्षक सुरेन्द्र चौधरी, “हामीले आफ्ना घरका जेष्ठ सदस्यहरूको हातबाट पानी छ्यापेर आशीर्वाद लिन्छौं, जसले नयाँ वर्षमा रोग, दोष, अपशकुन टाढा जाओस् भन्ने विश्वास रहन्छ।”
युवापुस्तामा पनि यो पर्वको आकर्षण घटेको छैन। सामाजिक सञ्जालमा शुभकामना स्टोरीहरू, फोटो सेसन र समूहगत भेटघाटले माहोललाई अझै उल्लासमय बनाएको छ। इनरुवा–८ की किशोरी कल्पना झा भन्छिन्, “जुरशितलमा घर–परिवारसँगै बस्न पाउने रमाइलो अनुभूति हुन्छ। आमा–बुबाले पानी छ्याप्नु हुन्छ, अनि म शुभकामना माग्छु।”
स्थानीय प्रशासन र सुरक्षा निकायहरूले पर्वको समयमा शान्ति सुरक्षा व्यवस्थापनमा विशेष सक्रियता देखाएको छ। मेलाको समयमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी टोलीहरू तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्लाभरका विभिन्न मठमन्दिरहरूमा विशेष पूजा–अर्चना गरिएको छ भने परम्परागत लोकनाच, गीत र चुट्किलाले मेलाको वातावरण थप जीवन्त बनाएको छ।











Discussion about this post