इनरुवा । आज देशभर विभिन्न कार्यक्रमका साथ १९औं निजामती सेवा दिवस मनाइँदैछ। वि.सं. २०१२ सालको यही दिन निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको सम्झनामा यो दिवस २०६१ सालदेखि मनाउन थालिएको हो।
निजामती सेवा दिवसका अवसरमा आज बिहान सिंहदरबारस्थित संसद भवनअघिबाट प्रभातफेरी निकालिएको छ। प्रभातफेरीमा उल्लेख्य संख्यामा निजामती कर्मचारीहरूको सहभागिता रहेको थियो। उक्त प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको छ।
मुख्य समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष उत्कृष्ट सेवा दिएका कर्मचारीहरूलाई सम्मान गरेका छन्। ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’बाट १० जना कर्मचारीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरिएको छ। यस्तै, ‘निजामती सेवा पुरस्कार’बाट ३० जना कर्मचारीले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरूलाई नागरिकप्रति उत्तरदायी र निष्ठावान भई कार्य गर्न आग्रह गरेका छन्। उनले सेवा प्रवाहमा सुधार ल्याउने जिम्मेवारी निजामती सेवाले लिएको भन्दै ‘सक्षम र निष्ठावान कर्मचारीतन्त्र’ नै सुशासनको आधार हो भनेका छन्।
दिवसको अवसरमा आज देशभरका सरकारी कार्यालयहरू बन्द छन्। सरकारले सबै निजामती कर्मचारीलाई एक दिने सार्वजनिक बिदा दिएको छ।
निजामती सेवा दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रम, गोष्ठी, सम्मान र अन्तरक्रियाका माध्यमबाट मनाउने गरिन्छ। यसले कर्मचारीहरूमा थप प्रेरणा र उत्तरदायित्वको भावना थप गर्ने विश्वास गरिएको छ। यता सुनसरीमा पनि विविध कार्यक्रम गरी निजामति सेवा दिवस मनाइएको छ ।











Discussion about this post