सुनसरी — जेन–जी आन्दोलनका कारण प्रभावित बनेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले सोमबार सम्पन्न कार्यपालिका बैठकमार्फत भोलि मंगलबारदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। लामो समयदेखि अवरुद्ध भएको प्रशासनिक सेवा वैकल्पिक उपाय अपनाएर भए पनि निरन्तर गर्ने तयारी गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले कर्मचारीलाई तत्काल जनसेवा सुरु गर्न निर्देशन दिएका छन्। उनका अनुसार भवन र पूर्वाधारमा क्षति पुगे पनि सेवा प्रवाह रोकिनु हुँदैन। “बरु पार्किङ स्थलमा त्रिपाल वा प्लास्टिक ओच्छाएर भए पनि कार्यालय सञ्चालन गर्नुपर्छ,” उनले भने।
बैठकले हालैको आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरुलाई विभिन्न माध्यमबाट पहिचान गरी कारबाहीका लागि प्रशासनलाई सिफारिस गर्ने निर्णय गरिएको छ।
यता अध्यक्ष आजादले सेवा सञ्चालनमा कुनै बहाना स्वीकार्य नहुने स्पष्ट पार्दै आवश्यक पर्ने कागज, उपकरण वा संरचना अभाव भए पनि वैकल्पिक उपायमार्फत काम अघि बढाउन कर्मचारीलाई आह्वान गरेका छन्।
जनताले पनि कार्यालय सञ्चालन हुने निर्णयलाई स्वागत गरेका छन्। स्थानीयवासीका अनुसार लामो समयदेखि जन्म, मृत्यु, विवाह, वसाइसराइ दर्ता लगायतका काम अवरुद्ध हुँदा समस्या भएको थियो। कार्यालय सुचारु भएपछि सेवामा सहजता आउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आन्दोलनका क्रममा नष्ट भएका अभिलेख र उपकरण, सवारीसाधन, पालिका तथा वडा कार्यालयमा भएको क्षतिकाे विवरण संकलन गरी प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने तयारी गरेको छ। साथै, ‘डाटा रेकभरी’ र ‘अभिलेख पुनः संकलन’ अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत
इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...










Discussion about this post