काठमाडौं। देशका धेरैजसो पहाडी र हिमाली भूभागमा आज र भोलि भारी वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो सम्भावनासँगै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा उल्लेख्य हिमपात हुनसक्छ भने कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
४४ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ भने दश जिल्लामा निरन्तर मौसमको अपडेट लिँदै बस्न सुझाइएको छ। प्रभावित हुन सक्ने जिल्लामा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा छन्।
मधेस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही, वाग्मतीमा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, चितवनलगायतका जिल्ला परेका छन्।
त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका गोरखा, मुस्ताङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा पनि जोखिम बढेको बताइएको छ।
प्राधिकरणका अनुसार वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्छन्। त्यसैले अत्यावश्यक नपरी यात्रा नगर्न, नदी किनारका बासिन्दाले सतर्क रहन तथा सुरक्षित स्थानमा सर्न सुझाइएको छ।
धानलगायतका बाली भित्र्याउने समय भएकाले किसानलाई समेत सचेत गराइएको छ—“काटिएका बाली सुरक्षित स्थानमा राख्न र अझै नकटेका बाली तुरुन्त भित्र्याउन।”
प्राधिकरणले जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिलाई निरन्तर सतर्क रहँदै प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। तीनैवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई पनि पूर्वतयारी र प्रतिकार्यमा सघाउन अनुरोध गरिएको छ।











Discussion about this post