सुनसरी । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै हुँदै भइरहेका लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले ‘डग स्नाइपिड’ नामक विशेष अभियान सञ्चालन गरेको छ।
सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले मंगलबारदेखि अभियान सुरु गरेको हो। छठ पर्व सकिएसँगै सीमाक्षेत्रमा लागुऔषध ओसारपसार तीव्र हुन थालेपछि प्रहरीले विशेष तालिमप्राप्त कुकुरसहित अभियान सञ्चालनमा ल्याएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवेका अनुसार सीमाक्षेत्र हुँदै बढ्दै गएको अवैध ओसारपसार नियन्त्रणका लागि कडाइ अपनाउँदै विशेष टोली परिचालन गरिएको हो।
इलाका प्रहरी कार्यालय भान्टाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.स.नि.) पुण्यप्रसाद अधिकारीले भने,
“सीमापारि भारतीय बजारमा ब्राउन सुगर, कोरेक्स, नाइट्रोजेपाम जस्ता प्रतिबन्धित औषधको कारोबार सजिलै हुने र त्यहाँबाट नेपालतिर ओसारपसार बढेकाले विशेष तालिमप्राप्त कुकुरको सहयोगमा कडाइका साथ चेकजाँच अभियान सुरु गरिएको हो।”
अधिकारीका अनुसार भान्टाबारी नाकामा मङ्गलबार दिउँसोदेखि औपचारिक रूपमा अभियान सुरु गरिएको हो।
‘डग स्नाइपिड’ टोलीमा १२ जना प्रहरी (१० जना नेपाल प्रहरी र २ जना ट्राफिक प्रहरी) तथा २ वटा तालिमप्राप्त कुकुर रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार प्रदेशका अन्य सीमावर्ती नाकाहरूमा पनि यस्तै निगरानी र चेकजाँचलाई थप कडाइका साथ सञ्चालन गर्ने तयारी भइरहेको छ।











Discussion about this post