काठमाडौं । विवादित व्यापारी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि राजनीतिक हलचल चर्किएको छ। शान्ति–सुरक्षामा अवरोध गर्ने अभिव्यक्ति दिएको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रस्तुत गरिएको छ।
पक्राउपछि प्रसाईं निकट संगठन नागरिक बचाउ दलले तुरुन्तै सडक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। सोमबार मात्र मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने तयारी रहेको बताइएका प्रसाईंका समर्थकहरू अब “आजैदेखि आन्दोलन” मा उत्रिने दाबी गर्दै सडकमा निस्किन तयारीमा छन्।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईंलाई “अपहरण शैलीमा पक्राउ गरिएको” आरोप लगाउँदै सरकार नै शान्ति भंग गर्न चाहिरहेको टिप्पणी गरेका छन्। प्रसाईं समूहले मंसिर ७ को तयारीलाई अघि धकेल्दै तत्कालै देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्ने बताएको छ।










Discussion about this post