धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका–५, भैंसेमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा एक वृद्धाको ज्यान गएको छ भने १४ जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट सङ्खुवासभा जाने क्रममा बा ४ ख ५५०२ नम्बरको माइक्रोबस बिहान करीब ६ बजे दुर्घटनाग्रस्त भएको हो। भीरछेउको घुम्तीमा अचानक सन्तुलन गुमेपछि सवारी सडकबाट तल झरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सङ्खुवासभा सभापोखरी–२ की ८२ वर्षीया सबिता कालाखेतीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले पुष्टि गरे। उनका अनुसार २ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये चालक जितेन्द्र बुढाथोकी तथा अर्को एक यात्रु रहेका छन्। दुबैजनालाई तुरुन्तै धरानस्थित अस्पतालमा रेफर गरिएको हो।
यस्तै १२ जना सामान्य घाइते यात्रुको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण प्रारम्भिक रूपमा स्पष्ट नभए पनि सवारीको गति, मौसम तथा सडक अवस्थाबारे अनुसन्धान भइरहेको बताइएको छ।
स्थानीयवासीले बिहानै ठूलो आवाज आएपछि घटनास्थल पुगेर उद्धारमा सहकार्य गरेका थिए। प्रहरी, स्थानीय तथा स्वास्थ्यकर्मीको सक्रिय प्रयासले घाइतेलाई छिटो अस्पताल पु¥याउन सम्भव भएको थियो। धनकुटा–भौतिम मार्गमा यस वर्ष धेरै दुर्घटना दर्ता भइसकेका छन्। लगातारको घुम्ती, साँघुरो सडक र भिरालो भू–भाग भएकाले चालकहरूले विशेष सावधानी अपनाउनुपर्ने स्थानीयहरूको भनाइ छ।
प्रहरीले भने यात्रुवाहक सवारीहरूमा समय–समयमा स्वास्थ्य परीक्षण, ओभरस्पिड नियन्त्रण, र सडक सुरक्षा निर्देशिकाको पालनामा कडाइ आवश्यक रहेको भन्दै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गरेको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।













Discussion about this post