इटहरी — उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरीमा पुस ५ गतेदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ ।
जनता बहुमुखी क्याम्पसको आयोजनामा हुन लागेको यस सम्मेलनमा चार देशका विदेशी विज्ञसहित नेपालका ख्यातिप्राप्त शैक्षिक विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । जनता बहुमुखी क्याम्पसलाई पूर्वी नेपालको शैक्षिक हबको रूपमा विकास गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले सम्मेलनका विविध कार्यक्रमबारे जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा चार वटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चार वटा फिचर्ड स्पिच, एउटा समूह छलफल तथा कविता प्रस्तुति समावेश रहनेछ । यस्तै, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला तथा ८४ वटा कन्करेन्ट सेसन सञ्चालन गरिनेछ ।
सम्मेलनका मुख्य वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज (न्यूयोर्क, अमेरिका) का डा. प्रेम फ्याक तथा बाबा मस्तनाथ विश्वविद्यालय (भारत) का पूर्व उपकुलपति प्रोफेसर एच.एल. वर्मा सहभागी हुने तय भएको छ ।
कार्यक्रममा पाँच जना विदेशी विज्ञसहित नेपालका चर्चित १२ जना गरी जम्मा १६ जना प्लेनरी स्पिकर रहेका छन्, जसमा जनता बहुमुखी क्याम्पसकै दुई जना प्राध्यापक पनि समावेश छन् । यस्तै, चार जना फिचर्ड स्पिकर रहनेछन् । पोस्टर प्रदर्शनी, कार्यशाला तथा कन्करेन्ट सेसनका लागि छुट्टाछुट्टै प्रस्तुति व्यवस्था गरिएको छ ।
सम्मेलनका लागि खानपान, बसोबास, स्वागत, कार्यक्रम तालिका, प्रचार–प्रसार तथा आर्थिक व्यवस्थापनलगायत सबै उपसमितिहरूले आफ्नो जिम्मेवारी पूरा गरिसकेको जानकारी आयोजकले दिएका छन् ।
सञ्चालक समिति अध्यक्ष केसीका अनुसार शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबीच अन्तरविषय संवाद र सहकार्यलाई प्रवर्द्धन गर्दै समसामयिक विश्वका चुनौतीहरूको सामना गर्न तथा समयसापेक्ष शिक्षालाई परिमार्जन गर्दै नवीन शैक्षिक मोडेल विकासका लागि संरचनात्मक अध्ययन आवश्यक भएकाले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलन आयोजनाका लागि करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सहभागीबाट दर्ता शुल्कबापत प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ लिने निर्णय गरिएको छ । इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेको छ । साथै, सुनसरी जिल्लाका अधिकांश स्थानीय तह, इटहरी उपमहानगरपालिका अन्तर्गतका धेरै वडा कार्यालय तथा अन्य दाताहरूले पनि आर्थिक तथा भौतिक सहयोग गरेको आयोजकले जनाएको छ ।










Discussion about this post