इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा कार्यालयको औपचारिक सेवा राष्ट्रिय गानसँगै सुरू गर्ने अभ्यास आइतबार तेस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन गरिएको छ। गाउँपालिकाको निर्णयअनुसार हरेक कार्यदिवस बिहान ठीक १०:१५ बजे राष्ट्रिय गान गायनपछि मात्र औपचारिक सेवा प्रवाह सुरू हुँदै आएको छ।
यसअघि पनि गाउँपालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रम, औपचारिक सभा तथा विभिन्न सरकारी गतिविधिहरू राष्ट्रिय गानबाट सुरू गर्दै आइरहेको सन्दर्भमा सोही अभ्यासलाई थप व्यवस्थित र व्यापक बनाउँदै कार्यालय सेवा प्रवाहमा समेत लागू गरिएको हो। उक्त व्यवस्था गत आइतबारदेखि कार्यान्वयनमा ल्याइएको हो।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादज्यूले राष्ट्रिय गानलाई राष्ट्रको पहिचान, गौरव र सम्मानको प्रतीकका रूपमा उल्लेख गर्दै सेवा सुरू हुनुअघि कर्मचारी तथा सेवाग्राहीहरूलाई राष्ट्रिय गानमा सहभागी गराउँदा अनुशासन, समयपालन र राष्ट्रप्रेमको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार यस अभ्यासले कार्यालयमा समयमै उपस्थित हुने संस्कारको विकास गर्नुका साथै सेवाप्रवाहलाई थप मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले कर्मचारीहरूका लागि राष्ट्रिय गान गायन अनिवार्य गरिएको जानकारी गराएको छ भने सेवाग्राहीहरूलाई समेत सहभागी हुन विनम्र अनुरोध गरिएको छ। स्थानीय तहमा राष्ट्रिय भावना प्रवर्द्धन गर्ने यस सकारात्मक पहललाई स्थानीयवासीहरूले समेत उत्साहपूर्वक स्वागत गरेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले सुशासन, अनुशासन तथा सेवामैत्री प्रशासनलाई उच्च प्राथमिकतामा राख्दै उक्त अभ्यासलाई गाउँपालिकाका ८ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा पशु सेवा केन्द्रहरूमा समेत निरन्तर रूपमा लागू गर्दै लैजाने जानकारी गराएको छ।










Discussion about this post