इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न कम्प्युटर सेट र प्रिन्टर सेट हस्तान्तरण गरेको छ।
स्वास्थ्य शाखा प्रमुख हिरालाल शाहका अनुसार गाउँपालिकाले स्वास्थ्य चौकी भोक्राहा नरसिंह–२ (अकाहा), स्वास्थ्य चौकी भोक्राहा नरसिंह–७ (नरसिंह) तथा विभिन्न वडामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य केन्द्रहरूलाई एक–एक थान कम्प्युटर सेट र प्रिन्टर सेट उपलब्ध गराएको हो।
यस अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता उराँवले स्वास्थ्य सेवा प्रवाहलाई डिजिटल र प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताइन्। उनले भनिन्,
“स्वास्थ्य संस्थाहरूमा सूचना प्रविधिको प्रयोग बढेसँगै सेवा प्रवाह छरितो, पारदर्शी र प्रभावकारी बन्दै गएको छ। PAMS V2 र EHMIS जस्ता प्रणाली नियमित रूपमा अद्यावधिक हुँदा तथ्यांक व्यवस्थापन सहज हुनुका साथै नीति निर्माणमा पनि सहयोग पुग्नेछ।”
उपाध्यक्ष उराँवले स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराइएको उपकरणको सदुपयोग गरी सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरिन्।
गाउँपालिकाको यो पहलले स्वास्थ्य संस्थाहरूमा डिजिटल रिपोर्टिङ प्रणाली सुदृढ हुने र स्वास्थ्य सेवाको गुणस्तर थप सुधार हुने विश्वास लिइएको छ।











Discussion about this post