काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शहीदहरूको बलिदानपछि पनि राज्यको स्वरूप जनमुखी बन्न नसकेको टिप्पणी गरेका छन्। शहीद दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले व्यवस्था परिवर्तन भए पनि शासनको प्रवृत्ति नबदलिएको बताएका हुन्।
गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको ८५ वर्ष पूरा भएको उल्लेख गर्दै बालेनले उनीहरूको योगदानलाई स्मरण गरेका छन्। ती शहीदहरूको बलिदानपछि करिब एक दशकमा राणा शासन अन्त्य भए पनि राज्य सञ्चालनको चरित्र भने जनअपेक्षाअनुसार रूपान्तरण हुन नसकेको उनको भनाइ छ।
उनका अनुसार पछिल्ला ८५ वर्षमा विभिन्न राजनीतिक परिवर्तन भए, तर सत्ताको शैली र सोचमा ठोस सुधार आउन सकेन। जनताले बारम्बार आन्दोलन गर्नुपरेको र धेरैले ज्यान गुमाउनुपरेको यथार्थलाई स्मरण गर्दै उनले शहीदका सपनाहरू अझै अधुरा रहेको उल्लेख गरेका छन्।
बालेनले हालै भएको ‘जेनजी आन्दोलन’ पनि उठान गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमा उत्रिएका युवा तथा विद्यार्थीहरूले ज्यान गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले अब नयाँ पुस्ताले शहीदका आदर्शलाई व्यवहारमा उतार्ने जिम्मेवारी लिनुपर्ने समय आएको बताएका छन्।
उनले भ्रष्टाचार निर्मूल पार्दै सुशासन स्थापना गर्नु र देशलाई आर्थिक रूपमा सबल बनाउनु अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। साथै, राज्यका निकायहरूमा बढ्दो दलीय प्रभाव हटाएर पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
शहीद दिवसको अवसरमा उनले सबैलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माणका लागि इमानदारीपूर्वक जुट्न आह्वान गरेका छन्।










Discussion about this post