सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो अन्तर्गत सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन भइरहेको २४ महिने अप्रेन्टिसिप कार्यक्रममा सहभागी विभिन्न प्राविधिक शिक्षालयमा गठन भएका अल्मुनाइ समितिहरूमध्येबाट प्रदेश स्तरीय अल्मुनाइ समिति चयन गरिएको हो।
इटहरीमा आज सम्पन्न भेलाबाट आदर्श माध्यमिक विद्यालय, विराटनगरका अप्रेन्टिसिप पूर्व विद्यार्थी श्री विक्रम कुमार साह सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ। भेलाले अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गर्दै ७ सदस्यीय प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन गरेको छ।
कार्यक्रममा इन्स्योर परियोजनाकी टिभेट संयोजक रेखा उप्रेतीले प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समितिको भूमिका राज्य तथा परियोजना दुवैका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समितिले आगामी दिनमा सञ्चालन गर्न सक्ने सम्भावित गतिविधि र कार्ययोजनाबारे समेत धारणा व्यक्त गर्नुभयो।
भेलामा सहभागी उम्मेदवारहरूले आ–आफ्ना भावी कार्ययोजना प्रस्तुत गरेका थिए। सम्पूर्ण शिक्षालयको प्रतिनिधित्व गर्दै मनमोहन स्मृति पोलिटेक्निकका इन्जिनियर श्री लोचन राज न्यौपानेले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रमा विद्यमान समस्या र चुनौती समाधानमा यस समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नव–निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभयो।
नव–निर्वाचित अध्यक्ष श्री विक्रम कुमार साहले २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गतका सम्पूर्ण प्रशिक्षार्थीहरूको पोर्टफोलियो निर्माणलाई प्राथमिकताका साथ सहजीकरण गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित सहभागीहरूले नव–निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। समितिको कार्यकाल दुई वर्षको रहनेछ।
उल्लेखनीय छ, दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो नेपाल सरकार र स्वीस सरकारबीचको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रम हो, जसमा हेल्भेटास नेपालले प्राविधिक सहयोग प्रदान गरिरहेको छ।
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति सदस्यहरू:
१. विक्रम कुमार साह – आदर्श मा.वि., विराटनगर (अध्यक्ष)
२. बिकास चन्द्र राजबंशी – मोहनमाया प्राविधिक शिक्षालय (सदस्य–सचिव)
३.सन्दिप गुरुङ – नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालय, बिर्तामोड (सदस्य)
४.रबिना कुमारी मण्डल – सैलाजा आचार्य पोलिटेक्निक (सदस्य)
५.सुलेखा कुमारी मण्डल – सैलाजा आचार्य पोलिटेक्निक (सदस्य)
६.अन्जुम आरा – आदर्श मा.वि. (सदस्य)
७.बसन्त कुमार मण्डल – महानगर बहुप्राविधिक शिक्षालय (सदस्य) मा चयन भएका छन् ।










Discussion about this post