इनरुवा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवन क्षेत्रमा गण्डक नहर नजिक दुर्घटनामा परेको हो। राति करिब ९:१५ बजे कार अनियन्त्रित भई सडक छेउमा रहेको पिपलको रूखमा ठोक्किएको बताइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब १०:१५ बजे उनको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्। मृतक चालकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जना यात्रुको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











Discussion about this post