जयकृष्ण यादव / इनरुवा । सुनसरी प्रदेशको १४ औं र देशको ६५ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सुनसरी नेपालको ६५ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो । आयोजित एक कार्यक्रमका बीच सुनसरीलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री केदार कार्कीले पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरेको हो ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोले पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ । हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोही अनुसार जन्मेदेखि १५ महिना भित्रका सवै बालबालिकाले यो खोप पूर्ण रुपमा लगाएको हुनु पर्दछ । तोकिएको मापदण्ड अनुसार यसवर्ष जिल्लाका सबै बालवालिकाले खोप लगाएको सुनिश्चित भएकाले सुनसरीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कार्यालय प्रमुख सागर प्रसाईले जानकारी दिए ।
यसैबीच पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री केदार कार्कीले पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा भएको कार्यक्रमलाई कार्यान्वयन गर्न आग्रह गरे । बिहिबार सुनसरीको इटहरीमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केदार कार्कीले विकासका लागि भौतिक विकास मात्रै नभई मानविय विकास पनि जरुरी रहेको बताए ।
मन्त्री कार्कीले सबै सरोकारबालालाई घोषणा कार्यक्रमलाई इमान्दार भएर कार्यान्वयनमा लाग्न आग्रह गरे । उनले पेशा र जिम्मेबारी प्रति सबै इमान्दार भएर लागेको खण्डमा सबैको हित हुने बताए । मन्त्री कार्कीले स्वास्थ्यसगैं शिक्षा, आवास र रोजगारमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
फरक प्रसंगमा सरोकारबाला सबैमा आआफ्नो काम र जिम्मेबारी इमान्दारिपूर्वक निर्वाह गर्न आग्रह गरे । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहतको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा कानुन मन्त्री केदार कार्की रहेको थियो । जिल्ला खोप समन्वय समिति संयोजक एवं जिसस प्रमुख मेहताले आफूहरु बालबालिकाहरुको हितमा सदैव गम्भिर रहेको बताउँदै यसको कार्यान्वयनमा जोड दिए । कार्यक्रममा जिसस उप–प्रमुख कमला खतिवडा, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, गैरसरकारी संस्थाका विनोद विश्वकर्मा, पत्रकार गणेश निरौला, उद्योग वार्णिज्य संघका इनरुवा अध्यक्ष विरेन्द्र साह लगायतकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएकोमा बधाई तथा शुभकामना दिए । कार्यक्रममा १२ वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरु, अन्य निर्वाचित पदाधिकारीहरू, स्वास्थ्य कर्मचारीहरू, सबै स्वास्थ्य संस्था, केन्द्र र चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि ध्यान दिनुपर्नेमा जोड दिए ।
यादवले पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमसम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघसंस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमुख जिल्ला अधिकारीको तर्फबाट हार्दिक आभार प्रकट गरे । उनले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ थप नीति तथा योजनाहरूमा समेटिन आग्रह गरे । कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरू १२ जनालाई सम्मान गरिएको थियो ।
Discussion about this post