इनरुवा । सुनसरीमा गत वर्ष गठन भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीले विगतका आयोगहरूले थालेका भूमिसम्बन्धी अधुरा कामलाई पूर्णता दिदै सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीका अध्यक्ष भगिरथ खत्वेका अनुसार पहिलो चरणमा बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाबाट आएको झण्डै १७ हजार आवेदन मध्ये एक हजार परिवारलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको हो ।
आयोगले प्रकासन गरेको सूचनाका आधार आएको आवेदन र विगतका समितिले संकलन गरेका आवेदन र पूरा गरेका प्रक्रियालाई निरन्तरता दिएर जग्गाको लालपुर्जा वितरणको तयारी थालिएको खत्वेले जानकारी दिए ।
यसअघिको आयोगले सुनसरीमा झन्डै सय परिवारलाई लालपुर्जा वितरण र अन्य हजारौं परिवारका जग्गा नाप–जाँचलगायतका काम अघि बढाएको थियो । आयोगले लालपुर्जा बाँड्ने अन्तिम सुरसार गरिरहेका बेला उक्त आयोग नै खारेज भएको थियो ।
भूमिसम्बन्धी समस्या समाधानका लागि गठित आयोगले विगतमा भएका कामलाई नै अगाडि बढाएको र नयाँ समेतको आयोगले आवेदन लिएर अबको केही हप्तापछि लालपुर्जा वितरणको तयारी भइरहेको खत्वेको भनाई छ ।
अहिलेको आयोगले विगतका कामलाई नै निरन्तरता दिन थालेपछि भूमिहीनहरू जग्गाको लालपुर्जा पाइने आशमा रहेका छन् ।
राष्ट्रिय भूमि आयोग २०७८ गठन भएपश्चात् पहिलो चरणमा सुनसरीका बराहक्षेत्र र धरान सहितका पालिकामा काम सुरु गरिएको छ । भूमिहीनलाई जग्गाको स्वामित्व दिने सम्बन्धी वडा र कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा पठाउन भनिएको थियो । सोहीअनुसार फाइल समितिमा पेस भइसकेको र पहिलेका अधुरा रहेका काम सक्ने गरी समितिले काम थालेको भनाई छ ।
समितिका अध्यक्ष, सदस्य सचिव, पदेन सदस्यहरू, जिल्ला समन्वय समिति, प्रशासन, मालपोत र वनका प्रतिनिधिको टोलिले यसअघिको आयोगले गरेका कामको अनुगमन समेत गरिसकेको छ । खत्वेका अनुसार विगतमा भएका कामलाई निरन्तरता दिइएकाले यस पटक धेरै परिवारले लालपुर्जा पाउने आधार बलियो देखिएको छ ।
Discussion about this post