इनरूवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकाल नेतृत्वको टीमले आफ्नो कार्ययोजना अघि सारेका छन् ।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ढकालको टीमले अपराध न्युनिकरण गर्नका लागि अपराधीहरूलाई धमाधम पक्राउ गरि कारवाही प्रक्रिया सुरु गरेका छन् ।
धरानमा लुटपाट गर्ने उदेश्यले गएका एक किशोरले महिलाको हत्या गरेका छन् ।
हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गरेको छ ।उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालका अनुसार गत भदौ २८ गते दिउँसो ३ बजेतिर धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित तोड्केकी ६४ वर्षीया पूर्णसरी राईको हत्या भएको थियो ।
राईले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए ।
उनका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो । प्रहरीलाई घटनाबारे भदौ २९ गतेमात्रै जानकारी भएको थियो ।
‘हामीलाई घटनाबारे एकदिनपछि मात्रै जानकारी आएकाले घटनाको दोषी पत्ता लगाउन चुनौती थियो,’ एसपी ढकालले पत्रकार सम्मेलनमा भने, ‘घटनामा संलग्नको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरीको अनुसन्धान समूह र तालिम प्राप्त कुकुर अनुसन्धानमा खटिएको थियो ।’
उनले घटनामा संलग्नलाई विराटनगर महानगरपालिका १५ स्थित रानी क्षेत्रबाट असोज २ गते आइतबार पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा राईले खुकुरी प्रहारबाट महिलाको हत्या गरेको स्वीकार गरेका छन् ।
‘मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेर लुटपाट गरेको खुलेको छ,’ एसपी ढकालले भने, ‘खुकुरी प्रहारबाट हत्या भएपछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर बराहक्षेत्र नगरपालिका ४ बाट साइकल चोरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
आरोपित किशोरले बराहक्षेत्र ४ बाट साइकल चोरेर भोक्राहा–नरसिंह गाउँपालिकामा पुगेको बताइएको छ । भोक्राहाका २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएको र उनी भारततर्फ लागेको अनुसन्धानबाट खुलेको छ ।
गहना राखेको र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले असोज ३ गते सोमबार गहनासहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत सुनसरीबाट राईलाई सात दिन र साहलाई चारदिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
Discussion about this post