इनरुवा । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको पूर्व संध्यामा समेत जिल्लाको शहरी क्षेत्र सँगै ग्रामिण क्षेत्रहरुमा समेत मतदाता शिक्षा नपाएको मतदताहरुले बताएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को मतदाता शिक्षा कार्यक्रम निर्देशिका प्रस्तावनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनका विषयमा आममतदातालाई सुसूचित गर्नुपर्नेमा अहिले सम्म मतदाताहरुमा अन्यौलता छाएको कोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय मनोज यादवले बताएका छन् ।
स्थानीय मतदता यादवले भने केही महिना अघि सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा मतदाता शिक्षा कार्यक्रम कागजमै सिमित पारेका कारण मतदाताहरुमा अन्यौलता छाएको थियो ।
मतदाता शिक्षा कार्यक्रम कागजमै सिमित पारेको कारण केही महिना अघि सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा निकै मत बदर भएको तितो सत्य नै हो ?
तर मतदाता शिक्षा कार्यक्रमका लागि निर्वाचन कार्यालयबाट प्राप्त भएका पर्चा, पोष्टर, ब्रोसर लगायतका मतदाता शिक्षा सामग्री वितरण तथा टाँस गर्नुपर्ने, स्थानीयस्तरमा प्रचलित मेला महोत्सव, हाटबजार आदिमा प्रचार प्रसार र सचेतनाको कार्यक्रम गर्नुपर्ने ठाउँमा मतदाताहरुलाई मतदाता शिक्षा प्रभावकारी तबरले नभएको अर्का हरिनगर गाउँपालिकाका स्थानीय मतदाता हरिकिसुन मण्डलले बताए ।
हरिनगर गाउँपालिकाका स्थानीय मतदाता मण्डलले भने वडा क्षेत्रभित्रका सम्पूर्ण मतदातालाई समेट्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यतालिका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाबाट वडामा समुदायस्तर÷घरदैलो कार्यक्रम संचालन गर्नुपर्ने ठाउँमा मतदाता शिक्षा नगरी कागज र अभियानमा सिमित पारेको उनले बताए ।
उनले भने नेपालको संविधान, निर्वाचन सम्बन्धी कानून, मतदाता शिक्षा नीति तथा आयोगबाट स्वीकृत मतदाता शिक्षा अवधारणा बमोजिम संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्देशिका समेत जारी गरेको छ ।
त्यस्तैै देवानगञ्ज गाउँपालिका , बर्जु गाउँपालिकामा समेत मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नबनेको स्थानीय मतदाताहरुले बताएका छन् ।
उता जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले बदर मत कम गर्ने उद्धेश्यका साथ सुनसरीका १२ वटै स्थानीय तहमा एकसाथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् ।
उनले भने निर्वाचन आयोगको निर्देशिका अनुसार स्थानीय तहलाई समन्वय गरि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले प्रभावकारी बनेको जिल्ला निर्वाचन अधिकारी पौडेल दाबी गरे ।
Discussion about this post