जनकपुरधाम । मधेश प्रदेशमा समानुपातिकतर्फ पुरुषहरु अभागी देखिएका छन् ।
एक नम्बरमा नाम रहेका पुरुषहरुलाई पछार्दै भाग्यमानी महिलाहरु प्रदेशसभाका लागि यात्रा तय गर्ने भएकी छन् । मधेश प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने ४३ सांसदमध्ये मधेशी ५४.३६ प्रतिशत, दलित १७.२९ प्रतिशत, मुस्लिम ११.५८ प्रतिशत, जनजाति ६.६१ प्रतिशत र खसआर्य ४.८९ प्रतिशत समावेश गराउनु पर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ र पिछडिएका क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश हुनुपर्दछ । मधेश प्रदेश सभाका कुल १ सय ७ सदस्यमध्ये ३६ जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार दलहरुले समानुपातिक प्रणालीबाट ३१ जना महिलालाई छनोट गर्नु पर्नेछ । मधेश प्रदेशमा प्रत्यक्षबाट चारजना महिला निर्वाचित भइसकेकी छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली निर्वाचित भएकी छन् । तर, प्रत्येक पार्टीले समानुपातिकमा महिला ३३ प्रतिशत पुर्याउनु पर्नेछ । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सदस्य छानिन्छन् । तर,महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ को (ख)बाट स्वतन्त्र विजयी भएकी सुरिता साहलाई त्यसमा जोडिने छैन् । मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, नेकपा एस र माओवादीले ४/४ सिट जितेको छ भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् । समानुपातिकबाट कांग्रेसले ९, एमालेले ८, जनमत पार्टीले ७, जसपाले ६, माओवादीले ४, नेकपा एसले ३, लोसपाले २ र राप्रपा, नेपाल संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले १÷१ सिट पाएका छन् । नेपाली कांग्रेसले मधेश प्रदेशसभामा समानुपातिकतर्फ पाएको ९ सिटमा ७ जना महिलालाई समावेश गर्नुपर्नेमा मधेशी कोटाबाट रेखा ठाकुर, जिवछीकुमारी यादव, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम छनोट गरेको छ ।
त्यस्तै, दलित कोटाबाट शकुन्तीदेवी महरा, मुस्लिमबाट नुरुन नेसा, जनजातिबाट मीनाकुमारी लामाको नाम छनोट गरेको छ भने मधेशी पुरुषबाट कुमरकान्त झा र राकेशकुमार सिंह समानुपातिक सांसद बन्ने भएका छन् । नेकपा एमालेले मधेश प्रदेशसभामा समानुपातिकतर्फ पाएको ८ सिटमा मधेशी महिलाबाट पल्टी देवी यादव, फुलो कुमारी देवी, विना देवी शर्मा र राजपतीदेवी जैसवालको नाम छनोट गरेको छ भने दलितबाट पल्टीदेवी महरा, मुस्लिमबाट जैनव खातुन, जनजातिबाट मञ्जुकुमारी थापामगर र पुरुषतर्फ मधेशीमा जयचन्द्र प्रसाद पटेललाई समानुपातिक सांसद बनाउन लागेको छ । जनमत पार्टीले पाएको समानुपातिक कोटाको ७ सिटमा मधेश प्रदेशसभामा मधेशी महिलाबाट बबिताकुमारी राउत इसर र अनिताकुमारी साहको नाम समावेश गरेको छ भने दलितबाट रञ्जुकुमारी मण्डल खंग, सपना दर्जी र पुरुष मधेशीबाट चन्दन कुमार सिंह, ऋषिकेश ठाकुर तथा दलितबाट सत्यनारायण खंग खत्वे सांसद बन्ने भएका छन् । उता, जसपाले पाएको समानुपातिक ६ सिटमा महिला मधेशीबाट विन्दुकुमारी यादव, किरणकुमारी साह र शोभादेवी देवलाई सांसद बनाउने भएको छ भने दलितबाट ललिता दास, मुस्लिमबाट शहिदा खातुन र मधेशी पुरुषबाट मनिषकुमार सुमनको नाम छनोट गरिएको छ ।
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको ४ सिटमा मधेशी महिलाबाट सुनिता यादव र माला कर्णलाई सांसद बनाउन लागेको छ भने दलितबाट शारदा पहाडी तथा मधेशी पुरुषबाट झल्कु यादव सांसद बन्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले पाएको ३ सिटमा मधेशी महिलाबाट सीताकुमारी देवी साह र मधेशी पुरुषबाट रत्नेश्वर गोइत यादव तथा सुरेन्द्रलाल कर्णलाई समानुपातिक सांसद बनाउने भएको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ पाएको दुई सिटमा मधेशी महिलाबाट रुपाकुमारी यादव र दलितबाट अञ्जुदेवी बैठालाई सांसद बनाउने निर्णय गरेको छ । उता,राप्रपाले शम्भुप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीले मोहम्मद मोसाहिद हुसेन र नागरिक उन्मुक्ति पार्टीले उर्मिलादेवी सिंहलाई समानुपातिक सांसद बनाउने भएको छ । मधेश प्रदेशमा एमाले, कांग्रेस वा जसपाले स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ । यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २ ९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो दल बनेको थियो ।
Discussion about this post