इनरुवा । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम गरी मनाएकाे छ ।
दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय इटहरी परिसरमा अन्तरक्रिया कार्यक्रम गरि भ्रष्टाचार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवस मनाइएको हाे ।
भ्रष्टाचारसम्बन्धि गुनासाे बढ्दै गएपछि अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले सरकारी कार्यालयहरुमा सुराकी खटाएको जनाएको छ ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा इटहरीमा आयोजित कार्यक्रममा बोल्दै अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका प्रमुख तीर्थराज चिलुवालले यस्तो जानकारी दिएका हुन् । विभिन्न कार्यालयहरुका प्रमुखहरु उपस्थित कार्यक्रममा उनले केही निकायहरुमा अनुगमन बढाएको बताएका छन् ।
उनले भने भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएकाे कारण सुराकी परिचालन गरिएको बताएका छन् ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने उनले बताए ।
उनले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारी, पत्रकार, राजनीतिक दल तथा आम नागरिक समाज सबै पक्ष जिम्मेवार भएर र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । भ्रष्टाचारकै कारण वैदेशिक लगानी भित्रन नसकेको बताउँदै अकुत सम्पत्ती विदेश लाने कार्य रोक्न विशेष संयन्त्र बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयका अधिकारीहरुले सरकारी मात्र नभइ निजी र गैससमा पनि अख्तियारको क्षेत्राधिकार विस्तार गर्नुपर्ने सुझाव दिएका थिए । यस्तै सम्पत्ती शुद्धिकरण, कालोबजारी ऐन जस्ता विभिन्न ऐन कार्यान्वयन गर्ने निकायहरुसँगसमेत सहकार्य गरेर जानुपर्ने बताए । यस्तै अख्तियारमा मुद्धा पर्ने बित्तिकै विकासका कामहरु रोक्ने परिपाटी अन्त्य हुनुपर्नेमा धेरैले जोड दिएका थिए ।
प्रदेश १ सरकारका प्रशासकीय सुधार तथा समन्वय सचिव कृष्ण सापकोटाले विकासमा अवरोध नगर्ने गरी छानविनपछि मात्र पत्राचार गर्ने परिपाटी विकास गर्नुपर्ने बताएका थिए । ‘अनुसन्धानको प्रक्रियामा परिवर्तन आवश्यक छ,’ उनले भने, ‘अनुचित कार्य हेर्ने छुट्टै संरचना बनाउनुपर्छ भने स्थानीय तहको गुनासाहरु हेर्ने गरी सात वटै प्रदेशमा अलग संरचना बनाउनुपर्छ ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको उजुरी सबैभन्दा धेरै पर्ने गरेको बताउँदै कार्यालयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनले जनप्रतिनिधिहरुले प्रक्रियाभन्दा पनि छिटो काम गर्न खोज्ने हुँदा समस्या उत्पन्न हुने गरेको बताए । उनले धरानका मेयरले वनको जग्गामा साबुन फेक्ट्री बनाउन खोजेको बताउँदै भने, ‘सार्वजनिक जग्गा प्राप्तीको लागि आफ्नै कानुन छ, त्यही उपयोग गर्नुपर्नेमा प्रक्रिया वेवास्ता गरेर काम गर्न खोज्दा असमझदारी उत्पन्न भएको छ ।’
कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरीले भ्रष्टाचार नियन्त्रणका लागि उच्च राजनीतिक र प्रशासनीक प्रतिबद्धता आवश्यक पर्नेमा जोड दिए । उनले नागरिकलाई भ्रष्टाचारको प्रतिरोध गर्न र सरकारी अधिकारीहरुलाई पनि कार्यशैली फेर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा सहभागि अधिकारीहरुले प्रदेश सरकारका कामहरुको अनुगमन गर्न सकिने अवस्था नभएको बताए ।
अख्तियारमा परेका उजुरीहरु छिटै फच्र्यौट गर्नुपर्ने, सिडिओ कार्यालयहरुमा अख्तियारको छुट्टै टिम राख्नुपर्ने, जनप्रतिनिधिलाई पनि भ्रष्टाचारविरोधी अभियानमा सहभागि गराउनुपर्ने, कर्मचारीको दरबन्दी बढाएर अनुगमन बढाउनुपर्ने सुझाव दिइएको थियो । यस्तै भ्रष्टाचारको स्केल निर्धारण गरी सानो स्केलका भ्रष्टाचारलाई सचेत गराएर अघि बढ्नसमेत सुझाव दिइएको थियो । भ्रष्टाचार नियन्त्रण गर्न क्यासलेस कारोबार गर्नुपर्नेमासमेत सहभागिहरुको जोड थियो ।
Discussion about this post