बारा । मधेस प्रदेश स्थित बारा निर्वाचन क्षेत्र नम्बर – २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै यो क्षेत्र खाली भएको छ । जसका कारण यही १० वैशाखमा यो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले यो क्षेत्रमा चुनाव लड्ने रणनीति बनाएर रामसहायलाई उपराष्ट्रपति बनाएको कुरा अनौपचारिक कुराकानीका क्रममा स्वयं जसपाका नेताहरू बताउँछन् । सोही अनुसार उपेन्द्र चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि उनी गठबन्धनका अन्य दलको पनि साथ खोजीरहेका छन् ।
तर, उपेन्द्रलाई गठबन्धनमा रहेका सबै दलले सघाउने लक्षण भने देखिएको छैन । जनमत र लोसपाले त उम्मेदवार उठाउने तयारी गरिसकेका छन् । उपेन्द्रले गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको साथ खोजेका छन् ।
सँगै उपेन्द्रलाई चुनौती दिन गठबन्धनमै रहेका मधेशकेन्द्रित दलहरू प्रयासरत देखिएका छन् । ४ मंसिरको चुनावमा माओवादी केन्द्रबाट उठेर रामसहायसँग पराजित भएका शिवचन्द्र कुश्वाहालाई सिके राउतले आफ्नो पार्टी जनमतमा भित्र्याएका छन् । उपेन्द्रसँग उनै कुश्वाहालाई लडाउने राउतको तयारी छ ।
उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बारा- २ मा नेता राजेन्द्र महतोलाई चुनाव लडाउने निर्णय गरेको छ । बिहीबार बसेको लोसपाको बैठकले यस्तो निर्णय गरेको हो । महतो ४ मंसिरमा सर्लाहीबाट पराजित भएका थिए ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बारा- २ मा चुनाव लड्ने बताइसकेको छ । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले उपेन्द्र यादवलाई समर्थन गरे पनि पूरै पार्टीले समर्थन गर्ने सम्भावना भने कम छ । अर्कातर्फ बारा- २ उपेन्द्रलाई छाड्दा यी दलले थप बार्गेनिङ गरिरहेका छन् । त्यसको परिणामस्वरुप मधेशको मुख्यमन्त्री पनि परिवर्तन गराउने प्रयास भइरहेको छ ।
त्यसो त, लोसपा, जनमत, नाउपाले जसपाविरुद्ध मोर्चाबन्दी गरिरहेका छन् । गठबन्धनमा अर्घेल्याइँ गरेर उपेन्द्रले बढी भाग खोजेको भन्दै यी तीन दल जसपासँग असन्तुष्ट छन् । यही कारण यी तीन दलले गठबन्धनमै रहेर पनि उपराष्ट्रपतिमा उम्मेदवार खडा गरेका थिए । त्यसबेला रास्वपाले यी तीन दललाई सघाएको थियो । त्यही मोर्चाबन्दीका कारण बारा- २ मा उपेन्द्रका लागि सोचेजति सहज भने छैन ।
त्यसो त उपेन्द्र यादवले आफ्नो सहजताका लागि बाराकै सांसद सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाएका छन् । त्यस्तै बाराका बालकिशोर यादव जसपाको प्रदेश समिति अध्यक्ष छन् । बारा- २ मा यादवहरूको ठूलो संख्या रहेकाले उपेन्द्रले सहजै चुनाव जित्ने जसपाका नेताहरू दाबी गर्छन् ।
तर, ४ मंसिरमा सप्तरीबाट उपेन्द्रलाई पराजित गरेका जनमतका अध्यक्ष सीके राउत यसपटक बाराबाट पनि पराजित गर्ने ध्याउन्नमा छन् । सोहीकारण उनले अघिल्लोपटक माओवादीबाट चुनाव लडेका कुश्वाहालाई पार्टीमा भित्र्याएका हुन् ।
चुनाव नजिकिँदै जाँदा जसपा र जनमतका नेताहरूबीच खुला रूपमा टिकाटिप्पणी भइरहेको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले फेसबुकमै जनमतका अध्यक्ष राउतको चर्को आलोचना गरेका छन् ।
‘चन्द्रकान्त राउतले २०७९ को आम निर्वाचनमा सप्तरी २ बाट उपेन्द्र यादवलाई हराए । नेपालको राजनीतिमा राउतको योगदान र बलिदानी त्यत्ति हो,’ बस्नेतले लेखेका छन्, ‘राउतले उपेन्द्र यादवको विरोधका लागि विरोध गर्छन् । राउतको राजनीतिक विचार, सिद्दान्त, दर्शन, लक्ष्य, नीति र कार्यक्रम यत्ति हो ।’
उता जनमतका प्रवक्ता बीपी साहले आफू सांसद बन्न उपेन्द्र यादवले आफू सांसद बन्न रामसहाय यादवको राजनीति समाप्त गरिदिएको टिप्पणी गरेका छन् । ‘आफू मन्त्री बन्न (उपेन्द्र यादवले) रामसहाय यादवको राजनीति समाप्त पारे,’ साह भन्छन् ।
उपेन्द्र र महतो दुवै मधेशका चर्चित र पुराना नेता हुन् । यी दुवै पटक-पटक मन्त्री भइसकेका छन् । राजनीतिक चालबाजीमा पनि यी दुई नेता कमजोर छैनन् । अनि अर्को समान कुरा भनेको ४ मंसिरको चुनावमा यी दुवै नेता पराजित भएका थिए । जसका कारण बारा- २ मा हेबिवेट नेताहरूको भिडन्त हुने लगभग निश्चित देखिएको छ ।
अर्कातर्फ यी दुई नेताको भिडन्तमा जनमतले सोही क्षेत्रबाट पराजित भएका कुश्वाहालाई अघि सार्ने भएको छ । यसले गर्दा बारा- २ को निर्वाचन थप रोचक बन्ने देखिएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती दुवै क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन गराउने निर्वाचन आयोगको तयारी छ ।
जसअनुसार १६ चैतमा उपनिर्वाचन प्रयोजनका लागि दुवै क्षेत्रको उपनिर्वाचन प्रयोजनका लागि आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशित गरिने आयोगले जानकारी दिएको छ । त्यस्तै १८ चैतमा उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
आयोगका अनुसार २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिने छ भने २३ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ । शिलापत्र
Discussion about this post