सुनसरी — इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगरवासीले नयाँ घर बनाउँदा आफैंले नक्सा बनाइदिने भएको छ ।
उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता अनुसार नगरवासीले घर बनाउँदा आफैंले नक्सा बनाइदिने तयारी गरेको जनाएको छ । स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो बढेपछि उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ,’ पौडेलले भने, ‘यसको तयारीमा उपमहानगर लागिसकेको छ, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’
पौडेलका अनुसार भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको हो । ‘निजी इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत घरको डिजाइन बनाउँदा धेरै महागो शुल्क तिर्नुपरेको गुनासो आएको छ,’ पौडेलले भने, ‘सहुलीयत दरमा अब उपमहानगरपालिकाले नै नक्सा बनाउँछ ।’
कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमै उपमहानगरपालिकामा दर्ता नगर्ने जस्ता समस्याले उपमहानगर आफैंले नक्सा बनाउने काम सुरु गर्न लागेको जनाइएको छ । उपमहानगरको यो कदमले जनताले थोरै शुल्कमा नक्सा बनाउन सक्ने उपमहानगरको भनाइ छ ।
यस्तै इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउने बैंक तथा वित्तीय संस्थाहरुमा जेष्ठ नागरिकहरुले सास्ती पाएको भन्दै उपमहानगरपालिकाले यसका लागि बैंक तथा वित्तीय संस्थाको छनोट गर्ने भएको छ ।
उपमहानगरको १२८ औं नगरकार्यपालिकाको बैठकले खुल्ला प्रतिस्पर्धाबाट बैंक वित्तीय संस्था छानेर सेवाग्राहीको घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने निर्णय गरेको हो ।
Discussion about this post