इनरुवा । इनरुवा नगरपालिका क्षेत्रमा रहेका माछामासुका पसलहरु तीन महिनाभित्र मासु जाँच ऐन बमोजिम व्यवश्थापन गरिने भएको छ ।
इनरुवा तथा आसपासका गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवालाहरुको समन्वय बैठकले तीन महिनाभित्र मासु जाँच ऐनअनुसार माछामासु पसल व्यवस्थापन गर्न सहमति भएको हो ।
इनरुवा नगरपालिका मेयर केदार भण्डारीका अनुसार तीन महिनाभित्र नगरक्षेत्रमा आसपासका पालिकाहरुको सहकार्यमा मासु जाँच ऐनअनुसार तोकिएको मापदण्डभित्र रहेर माछामासुको पसल व्यवस्थापन गर्न लागिएको हो ।
उनका अनुसार नगरपालिकाले इनरुवामा माछामासुको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई मासु पसल व्यवश्थापनका बारेमा सचेत गराउँदै विभिन्न जानकारीमुलक कार्यक्रम गर्दै आएकाले तीन महिनापछि उपभोक्ताको स्वास्थ्यमा असर नपुग्ने स्वास्थ्य मासु मात्रै बिक्री गर्ने दिने तयारी गरिएको हो ।
इनरुवावासीले खरिद गरेर घरमा लैजाने माछामासु स्वच्छ, सफा, स्वास्थ्य र मापदण्ड पुरा गरेको बधशालामा मात्रै काटेर पसलमा बिक्री वितरण गर्न पाउने व्यवश्था मिलाउन तीन महिनाको समय सीमा तोकिएको भण्डारीले जानकारी दिए ।
समन्वय बैठकमा बौल्दै भोक्राहा नरसिंह गाउपालिकाका अध्यक्ष अजमल अख्तर आजादले इनरुवा नगरपालिकाले मासु जाँच ऐन लागु गरेसँगै छिमेकी पालिकामा समेत माछामासु पसल सुधार तथा व्यवस्थापन गरिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहता, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर देवराज घिमिरे, पशुपन्छी बिज्ञ डाक्टर डिल्लीराम सेढाई, उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, पोल्ट्री तथा माछामासु व्यवसायी संघ सुनसरीका अध्यक्ष मनोज कुँबर, पशुपन्छी विज्ञ सागर तिम्सिनालगायतले बोलेका थिए ।
कार्यक्रममा इनरुवा नगरपालिका पशुपन्छी शाखाका डाक्टर राजकुमार यादवले नगरक्षेत्रमा ६४ वटा मासु पसल, ५ वटा माछा पसल, माछा फर्म २४ वटा, गाइ्र्र फर्म २५ भैसी फर्म १८ वटा, बाख्रा फर्म २० बंगुर फर्म २, दाना पसल ७ वटा, भेटनरी पसल ९ वटा व्यवसायीक रुपमा दर्ता भै संचालनमा रहेको जानकारी गराएका थिए ।
Discussion about this post