इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाकाे स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आज आइतबार पनि पेन डाउन गरेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिद्वारा निर्धारित कार्यतालिका बमोजिम असाेज १९ शुक्रबारदेखि देशभरिका सबै स्थानीय तहमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने कार्यक्रम अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकामा पनि सोही बमोजिम आज आइतबार सेवा प्रवाह बन्द रहने गरि स्थानीय तहका कर्मचारीहरूले पेन डाउन गरेका हुन ।
संघीय निजामती विधेयकका विरोधमा स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको निर्णय अनुसार हिजो देखि लागु हुने गरी अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरी अनिश्चितकालिन रुपमा पेन डाउन गरिएको सङ्घर्ष समितिका भाेक्राहा नरसिंह गाउँपालिका संयोजक रमेशचन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनलेे बताएअनुसार बिरोध प्रदर्शनका लागि काठमाण्डौमा सञ्चालन भइरहेको दबाबमूलक कार्यक्रममा सहभागी हुन नसकेका स्थानीय तहका कर्मचारीहरूले आफु कार्यरत स्थानीय तहमा नारा सहितको कालो ब्यानरको साथमा धर्ना बसेर दबाब सिर्जना गरेको तिमिल्सिनाले बताए ।
संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिले जनाएको छ । उनीहरूले स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा सङ्घको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाई छ ।
कर्मचारीहरूले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तिन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने लगायतका माग राखेका छन् ।
साथै कर्मचारी कल्याण कोषको व्यवस्था हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने, अन्तर प्रदेश सरुवा लागू गर्नु पर्ने माग राखेको स्थानीय तहका कर्मचारीहरूको भनाई छ ।
यस्तै कर्मचारी समायोजन ऐन अनुसार सङ्घबाट समायोजन भएका, साविक जिल्ला विकास समिति, गाउँ विकास समितिबाट स्थानीय सेवामा समायोजन भएका कर्मचारी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले नियुक्त गरेर स्थानीय तहमा खटाइएका कर्मचारीहरू स्थानीय सेवामा कार्यरत रहेका छन् ।
उता स्थानीय तहका कर्मचारीलाई पनि ट्रेड युनियन बनाउने अधिकार दिनुपर्ने माग समेत राखेको छ। भाेक्राहा नरसिंह गाउँपालिकाकाे आन्दोलनरत कर्मचारीहरूले आज आइतबार गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।
Discussion about this post